×

NEPAL TIMES UPDATES

Playing
बालेनका करोडपति मन्त्री,राष्ट्र बैंकका हाकिमका छोरा, ५ ठाउँमा जग्गा,२५ तोला सुन || Nepal Times
Apr 13, 2026
Playing
इरान यु द्ध ले विश्वभर हाहाकार, तेलको मूल्य बृद्धि, पुनः शान्ति वार्ताको आह्वान || Nepal Times
Apr 13, 2026
Playing
Top 15 Afternoon News || April-13-2026 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसले गगनका ससुराका कारण दलको नेता छान्न सकेन ? || Nepal Times
Apr 13, 2026
Playing
विश्वका कुन जलमार्गहरूमा लाग्छ टोल ट्याक्स ? होर्मुजदेखि पानामासम्म || Nepal Times
Apr 13, 2026
Playing
Netanyahuवि रुद्ध टर्कीको अदालतमा मु द्दा, ४६०० वर्षको जे ल स जाय माग || Nepal Times
Apr 13, 2026
Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026
Playing
बालेन सरकारमा को छ सबैभन्दा धनी ?यस्तो छ सम्पत्ति विवरण|| Nepal Times
Apr 13, 2026
Playing
पाकिस्तानले नै इरानविरुद्ध युद्ध लड्नु पर्न सक्ने, कसरी फस्यो पाकिस्तान? || Nepal Times
Apr 12, 2026
Playing
राप्रपामा लिङ्देनको राजीनामा मागियो, सबै समिति भंग गर्न माग || Nepal Times
Apr 12, 2026

न्याय क्षेत्रमा बढ्दैछ महिलाको आकर्षण

३० कार्तिक २०७८

३० कात्तिक, काठमाडौँ ।

राज्यका प्रत्येक निकायमा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने व्यवस्था भए पनि न्याय क्षेत्रमा अहिले पनि महिलाको सङ्ख्या न्यून छ । पछिल्लो समयमा भने महिला आकर्षण केही बढेको देखिएको छ ।

Advertisement
Advertisement

समावेशी र समानुपातिक प्रतिनिधित्वको व्यवस्थासहितको नेपालको अन्तरिम संविधान, २०६३ जारी भएको करिब १५ वर्ष पुगेको छ । अहिलेसम्म पनि व्यवस्थापिकाबाहेक कार्यपालिका र न्यायपालिकामा महिलाको समानुपातिक र समावेशिताको सिद्धान्तअनुरुप महिला हक सुनिश्चितता भने भएको देखिँदैन ।

कानुन व्यवसाय गर्नका लागि अनुमति दिने संस्था नेपाल कानुन व्यवसायी परिषद्को २०७८ साल कात्तिक १६ गतेसम्मको तथ्याङ्कअनुसार कानुन व्यवसायीको प्रमाणपत्र लिएका कानुन व्यवसायीहरु वरिष्ठ अधिवक्ता कूल ४४८ रहेका छन् । यसमध्ये महिला २८ जना छन् । त्यो भनेको ६.२५ प्रतिशत हो ।

त्यस्तै, पुरुष ४२० रहेका छन् । अधिवक्ताहरु कूल १८ हजार ९५१ मध्ये महिला दुई हजार ९६४ रहेका छन् । यो सङ्ख्या १५.६४ प्रतिशत हो । पुरुष १५ हजार ९८७ रहेका छन् ।

त्यसअघिको परिषद्को तथ्याङ्कलाई हेर्दा २०६० सालमा महिला कानुन व्यवसायीको सङ्ख्या ६८२ थियो । त्यो सङ्ख्या विसं २०७० मा आउँदा एक हजार ४१६ पुगेको देखिन्छ । हाल महिलाको सङ्ख्या बढेर दुई हजार ९६४ पुगेको छ । यसरी हेर्दा कानुन व्यवसायीमा महिलाको आकर्षण बढ्दै गएको देखिन्छ ।

नेपालका प्रथम कानुन व्यवसायी शान्तिदेवी थापा हुन् । उनले अभिकर्ताका रुपमा काम गरेकी थिइन् । नेपालको प्रथम अधिवक्ता, वरिष्ठ अधिवक्ता तथा सर्वोच्च अदालतको न्यायाधीश सुशीला सिंह शिलु थिइन् ।

कमाउँछु भनेर महिला आएका छैनन् : वरिष्ठ अधिवक्ता पाठक

न्याय क्षेत्रमा प्रवेश गर्ने ढोकाका रुपमा नेपाल कानुन व्यवसायी परिषद्को प्रमाणपत्र लिने महिलाको सङ्ख्या १६ प्रतिशत पुगेबाट पनि न्याय क्षेत्रमा महिलाको आकर्षण बढ्दै गएको देखिन्छ । विगतमा भन्दा अहिले न्यायमा आकर्षण बढ्दै गएको छ भने आगामी दिनमा अझ महिला सहभागिता बढ्ने वरिष्ठ अविधक्ता उषा मल्ल पाठकको बुझाइ छ ।

“न्याय क्षेत्रमा महिला सहभागिता कम छ, राज्यको अरू निकायमा पनि ३३ प्रतिशत नै त छैन, व्यवस्थापिकका संसद्मा मात्र हो,” उनले भने, “न्याय क्षेत्रमा महिला सहभागित कम नै छ, जिल्ला अदालतमा परीक्षा दिएर आउन सक्ने संवैधानिक व्यवस्था छ, महिलालाई आउन बाटो खुलेको छ ।”

न्याय सेवामा अलि बढी मेहनत गर्न जरुरी पर्छ । नयाँ आउने पुस्ताहरुको आकर्षण न्यायमा राम्रो छ । आगामी दिनमा राम्रो सहभागिता हुने देखिन्छ । कलेज पढ्दादेखि नै महिलालाई न्यायमा प्रोत्साहन गर्नुपर्ने देखिन्छ । “महिला काममा प्रतिबद्ध हुन्छन्, न्यायमा महिलाले भ्रष्टाचार गरेको आजसम्म सुनिएको छैन,” वरिष्ठ अविधक्ता पाठकले थपिन्, “न्याय क्षेत्रमा गएर कमाउँछु, भ्रष्टाचार गरेर पनि कमाउँछु भनेर महिला आएको देखिएको छैन, बरु क्षमतामा कमी छ भन्ने कहीँकहीँ सुनिन्छ ।”

सरकारी वकिलमा महिला सहभागिता बढ्दो छ : सहन्यायाधिवक्ता पराजुली

न्याय सेवामा आउने अर्को बाटो भनेको सरकारी वकिल हो । सरकारी वकिलमा पनि पहिला महिला औँलामा गन्न सकिने थिए । अहिले सरकारी वकिल आउने महिलाको सङ्ख्या निकै बढेको देखिन्छ । अहिले सरकारी वकिलको सबैभन्दा माथिल्लो तहमा सहन्यायाधिवक्ता रमा पराजुली छिन् । उनले २०५५ सालमा सरकारी वकिलमा शाखा अधिकृतबाट प्रवेश गरेकी थिइन् । सरकारी वकिलमा उनी आउँदा नायब महान्यायाधिवक्ता शारदा बज्राचार्य मात्रै थिइन् । शारदाको अनिवार्य अवकाशपछि २०६३ सालसम्म शाखा अधिकृत रमा एक्लै थिइन् । नेपालको संविधान र समावेशीसम्बन्धी लोकसेवा आयोगको कानून आएपछि महिलाको सङ्ख्यामा केही वृद्धि भएको छ ।

“विसं २०५० देखि २०५५ तिर महिलाका लागि एउटा मात्र कोटा थियो, समावेशी नीति आएपछि महिला र पुरुष उत्तिकै रुपमा आउन थालेका छन्,” सहन्यायाधिवक्ता पराजुलीले आफ्नो अनुभव सुनाउँदै भनिन्, “पीडिलाई न्याय दिनुुपर्छ भनेर महिलाले मुद्दामा ध्यान दिएर अध्ययन गर्दछ, महिलाका मुद्दामा महिलासँग कुरा पनि सहज रुपमा राख्न सक्छ, न्यायिक मन पनि महिलामा अलि बढी भएको जस्तो मलाई लाग्छ ।”

सरकारवादी मुद्दामा पीडितका तर्फबाट बहस गर्ने सरकारी वकिलको काम हो । महिलाहरु जिम्मेवारी र दायित्वप्रति बढी नै सहज भएको अनुभव सुनाउँदै उनले थपिन्, “महिलाले जिम्मेवारी लिएको ठाउँमा भ्रष्टाचार, अनियमितता र विकृति अहिलेसम्म मैले पाएको छैन, अवसर पाए भने महिलाले न्यायका लागि राम्रो काम गर्न सक्छन् ।”

अदालतमा काम गर्ने (न्याय सेवा) मा काम गर्ने र कानुन सेवा (मन्त्रालय वा अन्यत्र) काम गर्ने पनि बढेको देखिन्छ । न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीको तथ्याङ्कअनुसार कार्यस्थलमा हेर्दा सरकारी वकिलमा ४०८ छन् । त्यो भनेको १६.८८ प्रतिशत हो । न्याय सेवामा २४२ महिला रहेका छन् । यो सेवामा २१.२६ प्रतिशत छन् । कानुन सेवामा ६९ महिला कर्मचारी रहेका छन् । यो २३.३१ प्रतिशत हो ।

निरन्तरता र मेहनत चाहिन्छः उच्च अदालतका न्यायाधीश बस्नेत

हाल उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासमा कार्यरत न्यायाधीश प्रभा बस्नेतले जीवनको ४० वर्ष न्याय सेवामा बिताइन् । उनले जिल्ला, उच्च र विशेष अदालतमा न्यायाधीश भएर काम गरेको २५ वर्ष पूरा भएको छ । उनले कुनै दिन पनि इजलासमा बसेर महिला भएको कारण आफूलाई कमजोर भएको वा हेपिएको अनुभव गरेकी छैनन् ।

“म इजलासमा बसेर काम गर्दा महिला वा पुरुष भन्ने फरक मैले पाइनँ, समाजमा न्यायाधीशभन्दा विश्वास गर्दैनथे, तपाईं कि तपाईंको श्रीमान् न्यायाधीश भनेर सोध्थे,”उनले आफ्नो काम गर्दाको पुरानो अनुभव सुनाउँदै भनिन्, “तर अदालतमा म महिला हो, अरू धेरै पुरुष छन् भन्ने अनुभव छैन, थोरै महिला न्यायाधीश भएको हुँदा प्रधानन्यायाधीशले पनि सहयोग गर्नुहुन्थ्यो ।”

न्यायाधीश बनेर इजलासमा बस्दा पनि महिलाको मुद्दा आउँदा, अनावश्यक रुपमा महिलाले दुःख पाएको देखेर उनलाई मनभित्र पीडा हुन्छ । “समाजमा महिलालाई मानिस हो भनेर हेरिदिओस् भन्ने जस्तो लाग्छ, स–साना कुरामा महिलालाई दोष देखाइन्छ,” साना कुरामा सम्बन्ध विच्छेदको मुद्दा आउने गरेको स्मरण गर्दै भनिन्, “कति निर्दोष महिलाले यतिकै दुःख पाएका छन् भन्ने लाग्छ, यति सन्दुर संसार छ, महिला पुरुष दुवैले बराबरीरुपमा बाँच्न पाउनुपर्छ भन्ने मलाई लाग्छ ।” उनलाई समस्या गरिबीमा नभई व्यवहारमा भएको जस्तो लाग्छ । समाजमा अहिले पनि श्रीमती वा महिला भनेपछि हेप्नैपर्छ भन्नेजस्ता सोच्छन् । त्यो कुराले उनलाई धेरै पटक चित्त दुखेको छ ।

न्याय क्षेत्रमा प्रवेश गर्न महिलालाई लोकसेवा पास गर्न गाह्रो छ । पछिल्लो समयमा कानुन व्यवसायीबाट पनि राम्रा महिला आएका छन् तर सङ्ख्याको हिसाबले हेर्दा कम नै छैन । सबै जातजातिका मानिसहरु अझै पनि न्याय क्षेत्रमा आउन सकेको देखिँदैन ।

अदालतमा काम गर्ने महिला न्यायाधीशहरुको सङ्ख्या पनि न्यून नै रहेको छ । सर्वोच्च अदालतमा कूल दरबन्दी २१ रहेको छ । न्याय परिषद्को यही कात्तिक २२ गतेसम्मको तथ्याङ्कअनुसार हाल २० न्यायाधीश कार्यरत छन् । त्यसमध्ये तीनजना महिला न्यायाधीशमा मीरा खड्का, सपना मल्ल प्रधान र सुष्मालता माथेमा छन् । यो सङ्ख्या १५ प्रतिशत मात्र हुन्छ ।

नेपालको संविधानअनुसार तीन तहको न्यायालयको व्यवस्था छ । सर्वोच्च, उच्च र जिल्ला अदालत । सात प्रदेशमा सातवटै उच्च अदालत रहेका छन् । तीमध्ये एउटा उच्च अदालतमा महिला मुख्य न्यायाधीश छन् । उच्च अदालत तुलसीपुरको मुख्यन्यायाधीशमा नीता गौतम दीक्षित छिन् ।

उच्च अदालतमा कूल दरबन्दी १५३ मा अहिले १४५ जना छिन् । त्यसमध्ये महिला २० छन् । त्यो भनेको १४ प्रतिशत हो । जिल्ला अदालतमा कूल दरबन्दी २७२ रहेकामा २४६ कार्यरत छन् । त्यसमध्ये ११ जना महिला जिल्ला न्यायाधीश रहेका छन् । यो ४.४७ प्रतिशत मात्र हो । सर्वोच्च, उच्च र जिल्लामा कूल ३५ जना महिला न्यायाधीश रहेका छन् । न्यायाधीशको कूल दरबन्दी ४५३ मा महिला न्यायाधीश ७.७२ प्रतिशत मात्रै रहेको देखिन्छ ।

महिला न्यायाधीशमा न्यायिक भावना हुन्छः पूर्वप्रधानन्यायाधीश सुशीला कार्की

नेपालका प्रथम महिला प्रधानन्यायाधीश सुशीला कार्कीलाई न्याय सम्पादनमा महिलाको अलि बढी न्यायिक मन हुने र काममा बढी ध्यान दिने अनुभव छ । “न्यायालय र सरकारले पनि महिलालाई यो क्षेत्रमा आउन प्रोत्साहन गर्नुपर्छ तर त्यो देखिएको छैन,” पूर्वप्रधानन्यायाधीश कार्कीले भनिन्, “महिला न्यायाधीशमा अलि बढी न्यायिक भावना हुन्छ, महिला दया, माया, करुणाका खानी पनि हुन्छ, बढो सोचेर विचार गरेर फैसला गर्छन्, ट्र्याकबाट बाहिर पनि जाँदैनन् ।”

काम गर्दा चुनौतीहरु आउने भए पनि त्यसको सामना गर्दै अघि बढ्नुपर्ने उनको सुझाव छ । कानुन व्यवसायीबाट आएका पूर्वप्रधानन्यायाधीश कार्कीले सर्वोच्च अदालतमा करिब ९ वर्ष काम गरिन् । त्यसमध्ये उनले प्रधानन्यायाधीशका रुपमा ११ महिना काम गरिन् । “प्रधानन्यायाधीश भएर काम गर्दा चुनौती सामना गर्न सक्नुपर्छ, मुलुकको प्रथम महिला प्रधानन्यायाधीशको पदमा रहेर न्याय सम्पादन गर्दा कठिनाइहरु त आए,” उनले आफ्नो काम गर्दाको अनुभव सुनाउँदै भनिन्, “प्रधानन्यायाधीश हुँदा प्रशासनिक काम र मुद्दाका काम दुवै काम गर्नुपर्छ, जिम्मेवारी प्रशस्त हुन्छ, न्यायाधीश हुँदा अरू कामहरु हुन्छन् ।”

उनले आफ्नो अनुभव सुनाउँदै भनिन्, “म प्रधानन्यायाधीश हुँदा महिला प्रधानन्यायाधीश हुने क्षमता राख्न सक्दैनन् भन्ने सोच थियो तर मैले काम गरेर देखाएँ, अहिले त्यस्तो छैन ।” अहिले प्रशस्त महिलाहरु वकालतको क्षेत्रमा आएको र न्याय सेवामा पनि धेरै आएकोप्रति उनलाई खुसी लाग्छ । अनि आएका सबै महिलालाई क्षमतावान् बनाउनुपर्छ भन्ने उनलाई लाग्छ ।

“कतिपय मुलुकमा ५०÷६० प्रतिशत महिलाले यो सेवामा काम गरिरहेका छन्, नेपालमा कम छ, भारतमा पनि कम छ, तर चीनमा बढी छ,” उनले आफू चीन भ्रमणको स्मरण सुनाउँदै भनिन् । “म चीन भ्रमणमा गएको थिएँ, मैले त्यहाँका प्रधानन्यायाधीशसँग कुरा गर्दा चीनमा धेरै महिला न्यायाधीशले काम गर्छन् र उनीहरुको कार्यसम्पादन असाध्यै राम्रो छ भन्नुभएको थियो, त्यहाँ महिलालाई काम दिएमा समयमै काम पूरा भएको पाइएको थियो,” उनले भनिन् ।

“महिलाले भ्रष्टाचार गर्दै गर्दैनन् भन्ने त होइन तर अलि व्यावहारिक हुन्छन्, घरको खर्चमा कम गर्दछन् लगनशील र मेहनती हुन्छन्,” उनको कार्यअवधिमा महिला न्यायाधीशले भ्रष्टाचार गरेको कहीँ नपाएको उनको अनुभवसहित उनले भनिन् ।

न्याय क्षेत्रमा आउन महिला झिजो मान्ने गरेको उनको अनुभव छ । “काममा अलि बढी खट्नुपर्ने हुन्छ, अरू कार्यालयमा जस्तो १०–५ को जागिर हँुदैन, प्रत्येक दिन जतिबेला पनि अदालतकै बारेमा सोच्नुपर्ने हुन्छ,” उनले जोडिन्, “घर परिवार भन्न पाइँदैन, फैसला आदेश लेख्ने काम घरमा जान्छ, परिवारले सहयोग गर्नुपर्ने हुन्छ, नन्द, अमाजू आदिले सहयोग गर्नुपर्ने हुन्छ ।”

न्यायमा बढी महिला भए बेथिति कम हुन्छ

समाजशास्त्री डा ढुङ्गाना समाजमा न्याय क्षेत्रमा काम गर्ने कानून व्यवसायी, न्यायमा काम गर्ने कर्मचारी र न्यायाधीश भनेपछि हेर्ने छुट्टै सुन्दर नजर हुन्छ । अलि बढी फुर्तिला र बौद्धिक जस्तो पनि लाग्छ समाजशास्त्री डा शोभा ढुङ्गानालाई । उनलाई न्यायमा महिला सहभागिता बढाउनुपर्छ भन्ने लाग्छ ।

“पितृसत्ता भएको देशमा महिला नै बढी पीडित हुन्छन्, महिलाको समस्या महिलाले बुझ्छन, न्यायलयमा महिला बढी भएमा अहिलेको जस्तो बेथिति पनि कम हुन्छ,” उनले महिला न्याय क्षेत्रमा जरुरी भएको उल्लेख गर्दै भने, “महिलाको सङ्ख्या बढी भएको भए यस्तो अवस्था हुने थिएन, महिलामा अलि बढी न्यायिक मन हुन्छ, सोचेर विचार गरेर अध्ययन गरेर मात्र महिलाले फैसला गर्छन ।”

जनसङ्ख्याका आधारमा न्यायमा महिला जरुरी छ : संविधानविद् डा ज्ञवाली

नेपालको संविधानको व्यवस्थाअनुसार न्यायालयमा पनि अनिवार्य रुपमा कानुनको कार्यान्वयन गरेर जान जरुरी छ भन्ने लाग्छ कानुनविद् तथा वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीलाई ।

“नेपालको संविधानमा समावेशिता र समानुपातिक प्रतिनिधित्व भनेर कहीँ पनि लेखिएको छैन, योग्यता दक्षता र क्षमताका आधारमा न्यायाधीश नियुक्ति गर्नेछ भनी व्यवस्था गरिएको छ,” उनले भने, “जिल्ला अदालतमा भने केही व्यवस्था गरेको छ, न्याय परिषद् ऐन, २०७३ अनुसार अलिअलि व्यवस्था छ तर ३३ प्रतिशत सहभागिता छैन ।”

महिलाको समावेशी र समानुपातिक

प्रतिनिधित्वअनुसार हुन पाउने मौलिक हकमै व्यवस्था गरिएको छ । महिलाको जनसङ्ख्याअनुसार ५२ प्रतिशत महिला न्यायमा आउन जरुरी छ भन्ने उनलाई लाग्छ “न्यायपालिका एकात्मक छ, त्यहाँ महिला न्यायाधीश नियुक्ति गर्नुपर्छ भन्ने बाध्यात्मक व्यवस्था छैन,” उनले थपे, “पछिल्लो समयमा महिलाले आफ्नो योग्यता, दक्षता क्षमता वृद्धि गरेका छन्, पुरुषभन्दा महिला काममा बढी ध्यान केन्द्रित गर्छन् ।” नेपाल कानुन व्यावसायिक परिषद् सदस्यसमेत रहेका डा ज्ञवालीले कानुन व्यवसायीको प्रमाणपत्र लिएका महिलालाई पनि पेसामा टिकाइराख्न मुस्किल भएको र पारिवारिक, अन्य पेसामा जाने भएकाले कानुन क्षेत्रमा निरन्तरताका लागि प्रोत्साहित गर्नुपर्ने बताउछन् ।

Advertisement

न्याय क्षेत्रमा सुरुका वर्षहरुको तुलनामा महिलाको सहभागिता बढ्दै गएको छ । संवैधानिक प्रावधानअुनसार न्याय क्षेत्रमा महिलाको प्रतिनिधित्व बढाउन राज्यले ध्यान दिन जरुरी छ । रासस

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top