नेपालले कतारलाई ११९ रनले हरायाे

नेपालले कतारलाई ११९ रनले हरायाे

३० कात्तिक, काठमाडौं ।

नेपाली महिला क्रिकेट टोलीले कतारसँगको पहिलो टि२० आई खेलमा सानदार जित हात पारेको छ । मंगलबार कतारको वेस्ट इन्ड इन्टरनेशल क्रिकेट स्टेडियममा भएकाे खेलमा नेपालले कतारमाथि १ सय १९ रनको कीर्तिमानी जित हात पारेको हाे । योसँगै तीन डब्लूटि२० आई सिरिजमा नेपालले १–० को अग्रता लिएको छ ।

महिला २० आई खेलमा नेपालले हात पारेको यो हालसम्मै ठूलो जित हो । यसअघि नेपालको सर्वाधिक ठूलो जित २०१९ मा इन्डोनेसियाविरुद्ध ९२ रन थियो ।

जितको लागि १ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको कतार ११.५ ओभरमा २७ रनमा अल आउट भयो । कतारकी खादिजा इम्तियाज र एन्जेलिन मारेले सर्वाधिक ८-८ रन बनाए । नेपालको उत्कृष्ट बलिङ सामु घरेलु टोली कतारका ७ खेलाडीले खाता नखोली आउट भएका थिए । नेपालको घातक बलिङ सामु कतारका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पहिलो ओभरमै तीव्र गतिकी बलर कविता कुँवरले दुई ब्याटरलाई आउट गरेकी थिइन् । दोस्रो बलमा कप्तान आयशालाई शून्यमा एलबीडब्लू आउट गरेकी थिइन् । तेस्रो बलमा साची धडवाललाई शून्यमा एलबीडब्लू गरेकी थिइन् । पाँचौं ओभरमा स्पिनर सीता रानामगरले दुई विकेट लिँदै सहज जिततर्फ अघि बढाएकी थिइन् । पाँचौं ओभरको दोस्रो बलमा सीताले ओपनर केरी पोन्सेटलाई ७ रनमा बोल्ड आउट गरिन् । अर्को बलमा एलिना खानलाई शून्यमा बोल्ड गरेकी थिइन् ।

नेपालकी कप्तान रुविना क्षेत्री बेलबासेले १.५ ओभरमा १ रन खर्चेर ३ विकेट लिइन् । सीता रानामगरले २ ओभरमा १ मेडन सहित ३ रन खर्चेर २ विकेट लिइन् । कविता कुँवरले २ ओभरमा ६ रन खर्चेर २ विकेट लिइन् । करुणा भण्डारीको नाममा १ विकेट रह्यो ।

त्यसअघि  टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ४६ रन बनायो । नेपाली महिला टोलीले डब्लूटि२० आईमा बनाएको यो हालसम्मकै उच्च योगफल हो । नेपालकी इन्दु बर्माले ४७ बलमा ५ चौका सहित सर्वाधिक ५५ रनको योगदान दिइन् । इन्दु रिटायर्ट हर्ट हुँदै अर्को खेलाडीलाई मौका दिएकी थिइन् ।

इन्दु नेपालका लागि डब्लूटि२० आईमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेकी छिन् । उनले ४५ बलमा अर्धशतक पूरा गरेकी थिइन् । सीता राना मगर ३३ बलमा ५ चौका सहित ३९ रनमा आउट भइन् । सरिता मगर २१ बलमा २ चौका सहित २१ रनमा रन आउट भइन् । कविता कुँवर ८ रनमा अविजित रहिन् । दोस्रो विकेटका लागि इन्दु बर्मा र सीताले ८८ रनको कीर्तिमानी साझेदारी गरेका थिए । डब्लूटि२० आई खेलमा नेपालको बनेको हालसम्मकै उच्च साझेदारी हो । यसअघि इन्दु र सीतालेनै इन्डोनेसियाविरुद्ध दोस्रो विकेटका लागि गरेको ७० रनको साझेदारी उच्च थियो ।

सबिजा प्रनाायनको १२ औं चौथो बलमा विकेटकिपर रिज्फा बानोबाट स्टम्पिङ आउट भएपछि सीता अर्धशतक बनाउन चुकेकी थिइन् । दुई बलपछि कप्तान रुविना क्षेत्री बेलबास शून्यमा रन आउट भएकी थिइन् । नेपालले ओपनर काजल श्रेष्ठलाई दोस्रो ओभरको पाँचौं बलमा ब्यक्तिगत ३ रनमा गुमाएको थियो । एन्जेलिन मारेको बलमा काजल कटएण्ड बोल्ड आउट भएकी थिइन् ।

नेपालले कतारसँग दोस्रो खेल बुधबार र तेस्रो खेल बिहीबार खेल्नेछ । नेपालले आइसिसी वुमन्स टि२० एसिया छनोट अघि तयारीको लागि कतारसँग तीन टि२० आई सिरिज सिरिज खेलेको हो ।

सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टि२० विश्वकपको लागि नेपालसहित ६ राष्ट्रले अर्को वर्ष हुने ग्लोबल छनोटको लागि युएईमा एसिया छनोट खेल्न लागेका हुन् । एसिया छनोटमा नेपाल, भुटान, हङकङ, कुवेत, मलेसिया र युएई गरि ६ राष्ट्र सहभागी छन् । विजेता टोलीले आगमी वर्ष हुने टि२० ग्लोबल छनोट खेल्न पाउने छन् ।

नेपालले पहिलो खेल मंसिर ६ गते हङकङसँग खेल्नेछ । त्यसको भोली पल्ट मंसिर ७ गते भुटानसँग प्रतिस्पर्धा गर्ने नेपालले मंसिर ९ गते कुवेत, मंसिर १० गते मलेसिया र मंसिर १२ गते युएईसँग प्रतिस्पर्धा गर्नेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.