१ मंसिर, काठमाडौं ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकको शान्ति, विकास एवं समृद्धिका लागि अहिलेको निर्वाचन प्रणालीमा सुधार आवश्यक रहेको बताएका छन्।
जसपा नेपाल कञ्चनरूप नगर कार्यसमितिले सप्तरीको कञ्चनपुरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनले जनसंख्याका आधारमा मधेसीको राजनीतिक प्रतिनिधित्व हुनुपर्नेमा जोड दिए।
देशको संविधानमा समावेशी सिद्धान्तबमोजिम नै मधेशी, महिला, आदिवासी जनजाति, दलित र मुस्लिमलाई उचित प्रतिनिधित्वको व्यवस्था गरेको भएपनि भेदभावका कारणले सरकारी सेवामा उनीहरुको प्रवेश कम देखिएको अध्यक्ष यादवले बताए।
दलित, मधेशी, थारु, मुस्लिम र जनजातिलाई अधिकार सम्पन्न बनाउनका लागि जसपा नेपालले सङ्घर्ष गरिरहेको उल्लेख गर्दै उनले देशमा सदियौँदेखि पछाडि पारिएका जाति समुदायको हकअधिकार अझै पूर्णरुपले स्थापित भइनसकेको बताए। विभेद र उत्पीडनमा परेको समुदायको अधिकार सुनिश्चितताको लडाइँ निरन्तर रहेको उनको भनाइ थियो।
देशमा सङ्घीयता, गणतन्त्र, समावेशीतासहितको व्यवस्था स्थापनामा जसपाको अग्रणी भूमिक रहेको उल्लेख गर्दै अध्यक्ष यादवले स्थानीय सरकारदेखि संसद र राज्यको शासन र प्रशासनसम्म मधेशी, आदिवासी जनजाति, थारु, दलित, मुस्लिम, महिला, अल्पसंख्यक समुदायको प्रतिनिधित्वको सुनिश्चित सङ्घीय प्रणालीकै कारण भएको स्पष्ट बताए।
मधेशमा ठूलो जनसंख्या अहिले पनि नागरिकताबाट वञ्चित रहेको उल्लेख गर्दै उनले उनीहरुलाई नागरिकता दिलाउन नागरिकता ऐन संशोधन हुन आवश्यक रहेको बताए।