१ मंसिर, काठमाडौं ।
सरकारले पहिलो ई पासपोर्ट (विद्युतीय राहदानी) शताब्दी पुरुष सत्यमोहन जोशीलाई प्रदान गरेको छ । बुधबार त्रिपुरेश्वरस्थित विभागमा आयोजित एक समारोहबीच परराष्ट्रमन्त्री नारायण खड्काले शताब्दीपुरुष जोशीलाई ई पासपोर्ट प्रदान गरे ।
विभागले एमआरपी विस्थापन गरी (ई–पासपोर्ट) जारी गरेको हो। सरकारले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लाई विस्थापित गर्ने गरी ल्याएको ई पासपोर्ट बनाउन बुधबारदेखि नै अनलाइन बुकिङको व्यवस्था गरेको राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले जानकारी दिए ।
ई–पासपोर्ट कभरमा नेपालको नयाँ नक्सासहितको निशान छाप छ। साधारण (३४ र ६६ पृष्ठ), कूटनीतिक, विशेष, सर्भिस, अस्थायी, सिम्यान्स अभिलेख किताब गरी सात प्रकारका पासपोर्ट जारी हुनेछन्।
ई–पासपोर्टका पृष्ठहरूमा नेपालका सम्पदा, संस्कृति, जीवनयापन, वन्यजन्तु र चर्चित ठाउँहरूको तस्बिर राखिएको छ। पहिलो कभर र अन्तिम कभरका भित्री पृष्ठमा डाँफे र नेपालको राष्ट्रिय झन्डा छ।
विभागले यसअघि चार प्रकारका पासपोर्ट जारी गर्दै आएको थियो। पहिलो चरणमा विभागले साधारण पासपोर्ट जारी गर्ने अर्यालले बताए। अरू प्रकारका भने जनवरीदेखि मात्रै जारी हुनेछन्।
सेवाग्राहीले ई–पासपोर्ट एकै दिनमा पाउनेछन्। विभागले २० लाख ई–पासपोर्ट छपाइ गर्न सन् २०२० डिसेम्बरमा फ्रान्सको आईडीईएमआईए आइडेन्टी एन्ड सेक्युरिटी कम्पनीसँग २ अर्ब ४८ करोड रुपैयाँमा सम्झौता गरेको थियो।