२ मंसिर, विराटनगर ।
नेपाली युवा उद्यमी मञ्च विराटनगर च्याप्टरले यही मंसिरमा एकदिने ‘युवा उद्यमी महिला सम्मेलन’ गर्ने भएको छ । प्रदेश नं. १ का महिलाहरुलाई व्यापार व्यवसायमा लाग्न प्रोत्साहन गर्ने उद्देश्यले मंसिर १८ गते सम्मेलन गर्न लागिएको अध्यक्ष युनेशराज श्रेष्ठले बताए ।
उक्त सम्मेलन भर्खरै व्यापार व्यवसायमा लागेका र भविश्यमा व्यापार गर्ने सोच बनाएकाहरुका लागि फलदायी हुने उनको भनाइ छ । महिलाहरुलाई व्यवसायिक क्षेत्रमा लाग्न हौसला प्रदान गर्दै आवश्यक विषयमा सहजीकरण पनि गरिने कार्यक्रम संयोजक अनमोल प्रधानले जानकारी दिए ।
सम्मेलनमा उद्यमी व्यवसायीहरुबीचमा व्यापार विस्तार लगायतका विविध विषयमा समूहगत अन्तरक्रिया कार्यक्रम पनि हुने जनाइएको छ । साथै सफल उद्यमीले व्यापार व्यवसाय गर्दाताका भोगेका तीतामिठा अनुभव र अन्य विभिन्न रोचक कार्यक्रमहरु पनि गरिने संयोजक प्रधानले बताए । सम्मेलनमा सानादेखि ठूला उद्योगी व्यावसायीहरु सबैको सहभागिता रहने महिला संयोजक अदिती लोहियाले जानकारी दिईन् ।