रामदेवका टिभी च्यानल उद्घाटन गर्न पुगे देउवा, प्रचण्ड र माधव

रामदेवका टिभी च्यानल उद्घाटन गर्न पुगे देउवा, प्रचण्ड र माधव

३ मंसिर, काठमाडाैँ ।
रामदेव पतञ्जली योगपीठ नेपालले पतञ्जली नेपाल टिभी र आस्था नेपाल टिभी च्यानल नेपालमा संचालनमा ल्याएको छ । दुवै टिभी च्यानलको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरे । उनले सोक्रममा योगको महत्व संसारभर रहेको बताएका छन् ।

प्रधानमन्त्री देउवाले संसारमा दुष्प्रभाव नभएको एउटा मात्र औषधि आयुर्वेद भएको बताए । प्रधानमन्त्री देउवाले योगगुरु रामदेव र आचार्य बालकृष्णले नेपाल र नेपालीहरुको नाम उचाइमा लान र नेपाललाई विश्वसामु चिनाउनका लागि आएको बताए । प्रधानमन्त्री देउवाले सरकारले नेपालमा आयुर्वेदिक औषधि बनाउनका लागि आवश्यक पर्ने जग्गादेखि अन्य कुराहरुको उपलब्ध गराउने बताए । प्रधानमन्त्री देउवाले भने, ‘आज संसारमा योगा स्वास्थ्यका लागि सबैभन्दा उत्तम स्वस्थ रहनका लागि बाबा रामदेवलाई सबैले सम्झिन्छन्, आयुर्वेद सबैभन्दा उचित, सबैले मानिसके, साइड इफेक्ट नभएको एउटा मात्रै आयुर्वेद औषधि छ, साइड इफेक्ट नभएको औषधि केही छ भने त्यो आयुर्वेद मात्रै छ, नेपालमै आयुर्वेदिक औषधिहरु बनाउन चाहनुभएको छ, नेपाल सरकारको तर्फबाट उहाँलाई पूरा सहयोग हुनेछ । सरकारले जग्गा उपलब्ध गराउनेछ ।’
प्रचण्डले भने- रामदेव क्रान्तिकारी वैज्ञानिक हुन्

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले योगगुरु रामदेव र आचार्य बालकृष्ण थ्रि इन वान भएको बताए ।  योगगुरु रामदेव र आचार्य बालकृष्णले योगको माध्यमबाट पूरा समाजलाई नै आरोग्य र निरोगीतर्फ लगेको बताउँदै अध्यक्ष दाहालले रामदेव पहिला परम्परावादी र रुढीवादी जस्तो लागेपनि क्रान्तिकारी र वैज्ञानिक भएको बताए ।

अध्यक्ष दाहालले बाबा रामदेव र आचार्य बालकृष्णसँगको कुराकानीमा नेपालमा शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीको क्षेत्रमा क्रान्ति ल्याउने विषयमा छलफल भएको बताउँदै अब कार्यक्रम गर्ने बताए । अध्यक्ष दाहालले भने, ‘पहिलादेखि नै बाबा रामदेवसँग मेरो सान्निध्यता भयो, नजिक भयौँ, छलफल गर्न थाल्यौँ, कताकता मलाई पहिला लाग्थ्यो उहाँ अलि बढी रुढीवादी, परम्परावदी हुनुहुन्छ होला भन्ने लाग्थ्यो, तर छलफल गर्दै जाँदा उहाँ त वैज्ञानिक हुनुहुँदो रहेछ, क्रान्तिकारी हुनुहुँदो रहेछ, त्यसकारण मेरो निकटता पनि त्यसरी नै बढेर गयो, उहाँले योगलाई नयाँ क्रान्ति मार्ग प्रदर्शन गर्नुभयो, योगको माध्यमबाट आरोग्यतिर, निरोगितातिर पूरै समाजलाई लैजाने अभियानको नेतृत्व गर्नुभयो । आरोग्यताबाट महा उद्योगको उत्पादनतिर र सञ्चालनतिर लाग्नुभयो । त्यसकारण बाबा रामदेव र आचार्य बालकृष्ण थ्रि इन वान हुनुभयो । नेपालमा शिक्षा, स्वास्थ्य, रोजगारी र कृषिको क्षेत्रमा कसरी क्रान्ति गर्ने कसरी अघि बढ्ने भनेर कार्यक्रम आयोजना गरिने बताउनु भयो ।’

योग अभ्यास सबैले गरेमात्रै शरीर स्वस्थ हुने
त्यस्तै नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले योग साधनाको छुट्टै महत्व भएको बताए । उनले योगको अभ्यास सबैले गरेमात्रै शरीर स्वस्थ हुने बताए । उनले पहिला आफू धेरै यज्ञ, महायज्ञमा जाँदा पलेँटी कसेर बस्न नसकेको पछि योगाभ्यासले नै सहज बनाएको बताए ।

अध्यक्ष नेपालले भने, ‘योग र साधनाको बेग्लै महत्व छ । योगको अभ्यास हामी सबैले गर्नुपर्छ । स्वास्थ्यलाई राम्रो बनाउनका लागि पनि आवश्यक छ, ध्यान केन्द्रित गर्नका लागि पनि आवश्यक छ, प्राकृतिक चिकित्सालय, आयुर्वेदिक चिकित्सालय, होमियोपेथिकको पनि व्यापक प्रयोग गरौँ यसले मनमा शान्ति ल्याउँछ ।’

अध्यक्ष नेपालले नेपालमा प्राकृतिक चिकित्सालय, आयुर्वेदिक चिकित्सालय र होमियोपेथिक पद्धतिलाई बिस्तार र प्रयोग गर्नुपर्ने बताए । हरेक नेपालीलाई योगसहित आयुर्वेद शिक्षाको ज्ञान सञ्चार गर्दै नेपालको सामाजिक, सांस्कृतिक, आध्यात्मिक र धार्मिक सहिष्णुतालाई दिगो बनाउन टिभी सञ्चालन गर्न लागेको पतञ्जली योगपीठ नेपालले जनाएको छ । योगपीठले आजै स्वदेशी समृद्धि कार्डको पनि प्रारम्भ गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.