४ मंसिर, काठमाडौं ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ। प्रचण्डलाई भेट्न शनिबार बिहान विप्लव खुमलटार पुगेका हुन्। भेटमा दुई पार्टीबीच सहकार्यका विषयमा छलफल भएको स्रोतले बतायो ।
दुई नेताबीच कम्युनिस्ट ध्रुविकृत गर्ने विषयमा कुराकानी भएको छ। दुई नेताबीच तत्काल सहकार्य गर्ने र पार्टी एकता गर्न छलफल चलाउँदै जाने समझदारी बनेको खुमलटार स्रोत बताएको छ। भेटमा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा पनि सहभागी थिए।
प्रचण्डले पार्टी एकताका लागि पूर्वमाओवादी नेतासँग छलफल भइरहेको सार्वजनिक रुपमै बताउँदै आएका छन्। उनले ढिलोचाडो पूर्वमाओवादी एकै ठाउँमा हुने दाबी गरेका छन्। अघिल्लो सरकारसँग गरेका तीन बुँदे सहमति भए पनि कार्यान्वयन नभएको भन्दै विप्लवले असन्तुष्टि व्यक्त गरेका छन्।
तत्कालीन नेकपा माओवादी विभाजन हुँदा मोहन वैद्य ‘किरण’सँगै विप्लव पनि अलग भएका थिए । पछि उनी वैद्यबाट पनि अलग भए ।