४ मंसिर, काठमाडौं ।
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार भारतीय योगगुरू बाबा रामदेवको चाकरी भएको टिप्पणी गरेका छन् ।
शनिबार सामाजिक सञ्जाल ट्विटमार्फत नेपालमा विदेश लगानीको टिभी उद्घाटन गर्न दिएर देशको कानुनको उल्लंघन गरेको आरोप लगाउँदै तीनै जना योगगुरु रामदेवको चाकरी भएको टिप्पणी गरेका हुन् ।
उनले भनेका छन्, ‘प्र.मं. देउवा,प्रचण्ड र माधव नेपालले कानूनले विदेशी लगानी गर्न रोकेको आमसञ्चार माध्यम टी।भी। भारतीय योगगुरूलाई सञ्चालन गर्नदिन त्यसको उदघाटन गर्नु विदेशीको चाकरी गर्न देशकै कानूनको निर्लज्ज उल्लंघन हो। यस्तै दृष्टि र मानसिकता भएकाहरू एमसीसीका राष्ट्रघाती प्रावधान नदेखेझैं गर्छन्।’
उनले विदेशी लगानीको टिभी उद्घाटन गर्नेले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) राष्ट्रघाती भएको देखेर पनि नदेखेझैँ गरेको बताएका छन् ।
शुक्रबार पतञ्जली आयुर्वेदका लगानीकर्ता एवं योगगुरू रामदेव, पतञ्जलीका अध्यक्ष आचार्य बालकृष्णले मण्डिखाटारमा आस्था नेपाल र पतञ्जली नेपाल टिभी सञ्चालनमा ल्याएका छन्। टिभीको उद्घाटनमा प्रधानमन्त्री देउवासहित प्रचण्ड र नेपाल पनि थिए ।