क्षेत्रीय प्रतिनिधिलाई गगन थापाको अपिल- इतिहासलाई शिरानी हालेर मात्र हाम्रो श्रेष्ठता कायम रहन सक्दैन

क्षेत्रीय प्रतिनिधिलाई गगन थापाको अपिल- इतिहासलाई शिरानी हालेर मात्र हाम्रो श्रेष्ठता कायम रहन सक्दैन

६ मंसिर, काठमाडौं ।

नेपाली कांग्रेसका नेता गगन थापाले इतिहासलाई शिरानी हालेरमात्र पार्टीको श्रेष्ठता कायम रहन नसक्ने भन्दै कांग्रेसको पुनर्जागरण र नवनिर्माणमा सही निर्णय लिन क्षेत्रीय प्रतिनिधिहरुलाई अपिल गरेका छन्।

सोमबार एक अपिल जारी गर्दै नेता थापाले आज प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला अधिवेशनको प्रकृयामा भाग लिने प्रतिनिधिहरुलाई रुपान्तरिक कांग्रेस बनाउने गरि मत दिन आह्वान गरेका छन्।

’सात दशकदेखि नेपाली राजनीतिकको हरेक मञ्चमा हाम्रो पार्टीले सदा केन्द्रीय भूमिका निर्वाह गर्दै आएकोमा हामीलाई गर्व छ,’ थापाले अपिलमा भनेका छन्, ’तर, इतिहासलाई शिरानी हालेर मात्र अब हाम्रो श्रेष्ठता कामय रहन सक्दैन। परिवर्तनको वेगलाई ठम्याएर समयानुकूल पाइला चाल्न सकियो भनेमात्र हाम्रो श्रेष्ठता प्रमाणित हुँदै जानेछ।’

नेता थापाले कांग्रेसको आगामी महाधिवेशनबाट आम जनताले भरोषा र विश्वास गर्ने पार्टी बनाउनु पर्ने उल्लेख गरेका छन्।

’यो महाधिवेशनबाट हामीले त्यस्तो पार्टी बनाउनु छ, जसमा सबै सदस्यले आत्मसम्मान र अपनत्वको अनुभूति गरुन्, जसमाथि आम जनताले भरोषा र विश्वास गरुन्’ थापाले भनेका छन्।

महाधिवेशन आवधिक रुपमा नेतृत्व छनोट गर्ने प्रकृया मात्रै नभइ कस्तो कांग्रेस बनाउने भनेर निर्णय गर्ने अवसर पनि भएको नेता थापाको भनाइ छ।

’निः सन्देह हामी सबै कांग्रेसमा रुपान्तरण चाहन्छौं। तर, जब त्यो रुपान्तरित कांग्रेसका लागि आफ्नो तहमा निर्णय गर्ने समय आउँछ, हामी अलमलिएर पार्टीलाई दिशानिर्देश गर्ने अवसर खेर जाने गरेको छ’ थापाले भनेका छन्।

उनले यस पटकको महाधिवेशनमा लिइने निर्णयको प्रभाव अझ दूरगामी हुने भन्दै कांग्रेस प्रतिनिधिले गर्ने निर्णयले आउँदै गरेको तीनै तहको निर्वाचन र राष्ट्रिय राजनीतिलाई समेत प्रभावित पार्ने जनाएका छन्।

उनले कांग्रेसका प्रतिनिधिले कस्तो निर्णय गर्छन् भनेर सबैले व्यग्रताका साथ हेरिरहेको भन्दै पार्टीलाई जीवन्त,गतिशील तथा देश र जनताप्रति निरन्तर समर्पित राखिरहन विवेकपूर्ण निर्णय गर्नका लागि प्रतिनिधिहरुलाई आग्रह गरेका छन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.