शिक्षकहरुलाई राजनीति गर्न नदिए पार्टी प्रणाली नै कमजोर हुन्छ : प्रचण्ड

७ मंसिर, काठमाडाैँ ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकहरुलाई राजनीति गर्न नदिए नेपालको पार्टी प्रणाली नै कमजोर हुने बताएका छन् । मंगलबार पार्टी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको एकताको दोस्रो राष्ट्रिय परिषद्लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले शिक्षकहरु सक्रियतापूर्वक राजनीतिक रुपान्तरणको काममा लाग्नुपर्ने बताएका हुन् ।

नेपालका सबै पार्टीलाई जनतामा स्थापित गराउने काम शिक्षकहरुले नै गरेको भन्दै उहाँले शिक्षकहरुले राजनीति गर्नु हुँदैन भन्नु पार्टी प्रणालीलाई नै कमजोर पार्ने नीति भएको बताए । उनले शिक्षकहरुलाई प्राविधिक रुपमा अप्ठ्यारो नपर्नेगरी राजनीति गर्ने वातावरण बनाइने पनि बताए । उनले भने – ‘नेपालमा जतिपनि पार्टीहरु छन् । सबै शिक्षकहरुकै योगदानका कारण ती पार्टीहरु छन् । सबभन्दा बढी गाउँघरमा मजदुर, किसानसँग एकाकार भएर राजनीतिक दलहरुलाई स्थापित गराउने र राजनीतिक विचारहरुलाई, राजनीतिक कार्यदिशा, नीति, योजना कार्यक्रमहरुलाई जनताको विचमा लैजाने शिक्षकहरु नै हुन् । अब शिक्षकहरुले राजनीति गर्नु हुन्न भनिदिएपछि त्यो पार्टी सिस्टमलाई नै कमजोर पार्ने नीति बाहेक केही हुने छैन । त्यसकारण म त के भन्छु भने शिक्षकहरु अझ सक्रियतापूर्वक समाजसेवामा, सामाजिक रुपान्तरणका काममा, राजनीतिक रुपान्तरणका काममा लाग्नुपर्नेछ । लागेर मात्रै हामी सामाजिक र राजनीतिक रुपान्तरणको महान अभियानमा देशलाई लैजान सकिन्छ । अब टेक्नीकल्ली के गर्नुपर्छ भन्ने विल्कुल गौण कुरा हो । त्यो सहायक कुरा हो । टेक्नीकल्ली तपाईहरुलाई अप्ठ्यारो नपर्नेगरी सक्रियतापूर्वक जनताको बिचमा काम गर्ने वातावरण बनाइन्छ । बनाउनुपर्छ । तपाईँहरु दुविधामा नरहनु होला ।’

Advertisement

अध्यक्ष दाहालले शिक्षकहरुलाई राज्यले अन्याय गरेको पनि बताए। शिक्षकहरुलाई राज्यले विभेदमा पारेका कारण शिक्षकहरुले आन्दोलन गर्नुपरेको र क्रान्तिकारी हुनुपरेको उनको भनाई छ । उनले भने– ‘हामीकहाँ शिक्षक भनेपछि सबभन्दा बढी विभेदमा पारिएको बौद्धिक जमातजस्तो मानिन्छ । यो नेगेटिभ कुरा हो, यसलाई हामीले पोजेटिभमा बदल्नु छ । तर यो नेगेटिभ भित्रको हामीलाई पोजेटिभ के भयो भने त्यसै भएको हुनाले शिक्षक मजदुर, किसानसँग एकाकार भएर मजदुर किसानको आन्दोलनलाई साथ दिने, राजनीतिक क्रान्तिलाई साथ दिने हुन गएको कारणपनि त्यही हो । नत्र अमेरिकाको जस्तै शिक्षकहरु तपाईहरु पनि भएको भए के को आन्दोलनकारी हुने ? तपाईहरुमाथि राज्यले अन्याय गरेको छ । त्यसकारण तपाईहरु क्रान्तिकारी हुनुभएको । तर सधैँ यही हुनुपर्छ भन्न खोजेको होइन मैले त्यो चाहीँ नबुझ्नु होला ।’

अध्यक्ष दाहालले मधेशमा माओवादीको पक्षमा जनलहर आएको दावी गरे । उनले महन्थ ठाकुर र राजेन्द्र महतोले एमाले अध्यक्ष केपी ओलीसँग आत्मसमर्पण गरेर माओवादी केन्द्रलाई गुन लगाएको बताए। उनले एमाले अध्यक्ष केपी ओली मधेशी जनताको आत्मसम्मान र पहिचानविरोधी खलनायक भएको आरोप समेत लगाए । उनले भने – ‘अहिले मधेशमा पनि फेरी एकचोटी माओवादीको पक्षमा जनतामा एउटा लहर आउन खोज्दैछ । बुद्धिजिवीमा लहर आउन खोज्दैछ । थुप्रै गज्याङमज्याङ छ पार्टी भित्र तर पनि जनता चाहीँ क्लियर छन् । जनता अब नेतृत्वको बारेमा पनि क्लियर छन् । लाइनमा पनि क्लियर छन् । महन्थ र राजेन्द्र महतोलाई धन्यवाद भनेको छु । तपाईहरु केपी ओलीको अगाडी आत्मसर्मपण गरेर माओवादीलाई धेरै ठुलो गुन लगाउनुभयो । धेरै ठुलो सहयोग गरिदिनुभयो । किनकी नेपालमा संघीयताविरोधी, मधेसी जनताको आत्मसम्मान र पहिचानविरोधी खलनायक कोही छ भने एक नम्बर खलनायक केपी ओली हो भन्ने जनताले चाही बुझ्यो । नेताहरुले उसैको अगाडी आत्मसर्मपण गर्देर जनतालाई अझ छ्याङ्ग हुन मद्दत ग¥यो । अहिले जसरी मधेशको एउटा कन्फ्युजन, भ्रम थियो । मधेशको असली मशिहा, मधेशका मुक्तिदाता मधेशी नै हुन् भन्या जस्तोगरी आएका थिए नि राजेन्द्रहरु । अब त थाहा भइसक्यो नि । मधेशका मजदुर, किसान, शिक्षक, बुद्धिजिवी आम जनतालाई ठग्ने मधेशी दलालहरु नै हुन् । पहाडियाहरुलाई ठग्ने पहाडिया दलालहरु नै हुन् । मधेश र पहाड एक भएर दलालका विरुद्ध संघर्ष गरियो भने मधेशका जनताको पनि, पहाडका जनताको पनि मुक्ति सम्भव छ ।’

Advertisement

अध्यक्ष दाहालले अहिले माओवादी केन्द्रको भागमा शिक्षा मन्त्रालय रहेको भन्दै शिक्षकहरुको समस्या समाधानका लागि आफ्नो पार्टीले सकेको काम गर्ने बताए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top