८ मंसिर, काठमाडौं ।
आउँदो दुई वर्षभित्र नेपालका सबै घरधुरीमा बिजुली पु¥याउने सरकारको योजना पूरा हुनेतर्फ अगाडि बढेको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार कर्णाली प्रदेशका चार जिल्लामा बिजुली सेवा पुग्न सकेको छैन । ती जिल्लामा पनि छिट्टै केन्द्रीय प्रसारण लाइनको बिजुली उपलब्ध गराउने लक्ष्यका साथ काम भइरहेको छ ।
प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार कुल सात सय ५३ पालिकामध्ये चार सय ७१ पालिकामा ९० देखि १०० प्रतिशत नै विद्युतीकरण भएको छ । यस्तै, एक सय १३ पालिकामा ६५ देखि ९० प्रतिशत विद्युतीकरण भएको छ ।
४५ पालिकामा ३५ देखि ६५ प्रतिशत, ६३ पालिकामा ५ देखि ३५ र ६१ पालिकामा पाँच प्रतिशतको हाराहारीमा मात्रै बिजुली उपलब्ध भएको छ । दिगो विकास लक्ष्यले निर्धारण गरेको क्षेत्रमध्ये ऊर्जाको उपलब्धता पनि महत्त्वपूर्ण रहेको छ । वर्तमान सरकारले सबैलाई ऊर्जाको पहुँच पु¥याउने लक्ष्य राखेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले त्यसका लागि सबै प्रकारको साधन र स्रोत उपलब्ध गराएको छ ।
ऊर्जामन्त्री पम्फा भुसालका अनुसार बिजुली पुगेका क्षेत्रमा गुणस्तरीय र भरपर्दो सेवा दिने र नपुगेका क्षेत्रमा अहोरात्र काम गरेरै भए पनि उपलब्ध गराउने लक्ष्य राखिएको छ । मन्त्री भुसाल प्राधिकरण सञ्चालक समितिको अध्यक्षसमेत हुनुहुन्छ ।
प्राधिकरणका अनुसार देशभर ६२ लाख १८ हजार तीन सय ९५ घरधुरी रहेकामा तीमध्ये ८९ दशमलव ७० प्रतिशतमा बिजुली पुगेको छ । प्रदेश नं १ मा ८६ दशमलव ९५ प्रतिशत, प्रदेश नं २ मा ९९ दशमलव ६६ प्रतिशत, वाग्मतीमा ९५ दशमलव ९१ प्रतिशत, गण्डकीमा ९५ दशमलव ६८ प्रतिशत, लुम्बिनीमा ९४ दशमलव ९१ प्रतिशत, कर्णालीमा ४३ दशमलव ८७ प्रतिशत र सुदूरपश्चिममा ७१ दशमलव ०७ प्रतिशत घरधुरीमा बिजुली पुगेको छ ।
यो विवरणका आधारमा हेर्दा प्रदेश नं २ ले धेरै नै सफलता प्राप्त गरेको देखिन्छ भने कर्णाली प्रदेशमा अझै मेहनत गर्नुपर्ने देखिन्छ । प्राधिकरणले धेरैजसो ठाउँमा ११ र ३३ केभी क्षमताका प्रसारण लाइनमार्फत बिजुली दिएको छ । ती प्रसारण लाइनको क्षमता वृद्धि गर्ने र ट्रान्सफर्मर थप क्षमताको राख्ने लक्ष्यका साथ प्राधिकरणले काम गरिरहेको छ । यसबाट गुणस्तरीय र भरपर्दो बिजुली उपलब्ध हुनेछ ।
प्रदेश नं १ का १४ जिल्लामध्ये सोलुखुम्बुमा ६ दशमलव ०२ प्रतिशत घरधुरीमा मात्रै बिजुली पुगेको देखिन्छ । झापामा ९८ दशमलव ९१ प्रतिशत, मोरङमा ९८ दशमलव ०२ प्रतिशत, सुनसरीमा ९९ दशमलव ६२ प्रतिशत, धनकुटामा ९७ दशमलव ६५ प्रतिशत घरधुरीमा बिजुली पुगेको छ ।
प्रदेश नं १ को ओखलढुङ्गाको अवस्था कमजोर देखिन्छ । यो जिल्लामा मात्रै ४६ दशमलव ०६ प्रतिशत घरधुरीमा बिजुली पुगेको छ । थप बिजुली उपलब्ध गराउन एक हजार तीन सय ४१ वटा ट्रान्सफर्मर जडान गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।