एमाले महाधिवेशनः तयार भयाे गैँडाको मस्कट

एमाले महाधिवेशनः तयार भयाे गैँडाको मस्कट

८ मंसिर, चितवन ।

यही मंसिर १०–१२ गते चितवनमा तय भएको नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । महाधिवेशनको लागि मञ्च निर्माण, सुरक्षा व्यवस्था, प्रतिनिधिलाई खानपान तथा आवासको व्यवस्था र प्रचारप्रसारका काम धमाधम भइरहेका छन् ।

एमालेले १०औँ राष्ट्रिय महाधिवेशनको लोगोमा राखेको गैँडाको मस्कटको मूर्ति पनि तयार पारिएकाे छ । साढे तीन लाख रुपैयाँ खर्चिएर गैँडाको मस्कट तयार गरिएको हो ।

एमालेले गैँडाको मस्कटसहितको लोगो २६ कात्तिकमा सार्वजनिक गरेको थियाे । लोगोमा मस्कटले कम्युनिष्ट पार्टीको झण्डा बोकेको छ । चितवन एकसिंगे गैँडाका लागि पनि परिचित भएकाले महाधिवेशनको लोगोमा गैँडाको मस्कट राखिएको एमालेले जनाएको छ । मूर्तिकार सूर्य मध्यरातसहित १० जनाको टिमले १० दिन लगाएर गैँडाको मस्कट तयार गरेको हो ।

गैँडाको मस्कट फाइबरबाट बनाइएको हो । पछिल्लो समय फाइबरबाट मूर्ति बनाउने प्रचलन बढ्दै गएको मूर्तिकार सूर्य बताउँछन् । फाइबरको प्रयोगबाट कम मूल्यमा छिटोछरितो मूर्ति बनाउन सकिने उनले बताए । उनका अनुसार फाइबर र रेजिन केमिकलको प्रयोगबाट गैँडाको मस्कट बनाइएको हो ।

यो मूर्ति बनाउनुअघि सुरुमा माटोको नमूना मूर्ति बनाइएको थियाे । ‘माटोबाट बनाइने मूर्तिमा डिटेल वर्क गर्छौँ, कलाकारिताको काम यसमा हुन्छ ।त्यसपछि अर्को आउँछ, मोल्ड मोडलिङ । त्यसमा हामीले प्लाष्टरको डाइ बनाऔँ । त्यसपछि डाइका टुक्रा जोडेर फाइबर र रेजिन मिलाएर राखेपछि अन्तिम रुप तयार भयो, उनले भने ।

तेस्रो चरणमा मात्रै प्रदर्शनमा राख्न मिल्ने मूर्ति तयार भएको उनले बताए । जनावर र मानिसको शरिरजस्तो देखिनेगरी ‘मिक्स’ गरेर मूर्ति बनाइएकाले यसलाई मस्कट भनिएको उनको भनाइ छ ।

आरामले बनाएको भए मस्कट बनाउन कम्तिमा दुई महिना लाग्थ्यो । आकस्मिक रुपमा बनाउनु परेकाले मूर्तिकारको टिमले दिनरात काम गरेर १० दिनमा तयार पारेको उनले बताए ।

मस्कट राख्नको लागि महाधिवेशन उद्घाटन स्थलमा बेस बनाउने काम भइरहेको छ । भरतपुर महानगरपालिका–९ गोन्द्राङका मूर्तिकार सूर्यले गैँडाको मस्कटको मूर्ति पहिलो पटक बनाएका हुन् । उनले व्यावसायिक रुपमा मूर्ति बनाउन थालेको २० वर्ष भइसक्यो ।

विशेषगरी उनले गैँडालगायतका जंगली जनावर, बुद्ध र शहिदका मूर्ति बनाउने गरेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.