८ मंसिर, काठमाडौँ ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले यही मंसिर १५ गतदेखि पार्टीको चुनाव चिन्ह कलम लिएर आर्थिक संकलन गर्दै जनताको घरघरमा पुग्ने अभियान संचालन गर्ने घोषणा गरेका छन् । बुधबार जनकपुरमा स्थानीय सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले सो घोषणा गरेका हुन् ।
उनले एमालेको सूर्यमा ग्रहण लागेको र आफ्नो पार्टीको कलक चम्किरहेको पनि बताए । उनले आफ्नो पार्टीले समाजवादको दिशामा अघि बढनका लागि समानता, न्याय, विकास र समृद्धिको विषयलाई केन्द्रविन्दुमा राखेर अघि बढिरहेको बताए । अध्यक्ष नेपालले भने, ‘समाजवादको दिशामा अघि बढनका लागि समानताको, न्यायको, विकासको र समृद्धिको यी चार वटा विषयलाई केन्द्र विन्दुमा राखेर अगाडि बढिरहेको हुनाले भविष्य यो पार्टीको छ । मैले भन्ने गरेको छु–अव सूर्यको धाक नदेखाए हुन्छ । त्यसमा ग्रहण लागि सकेको छ । अव कलम चम्किरहेको छ । सत्य र न्यायको सन्देश दिईरहेको छ । अव मंसीर १५ गतेदेखि स्टिकर वितरण गर्दै आर्थिक सहयोग संकलन गर्दै घरघरमा हामी जनताको माझमा पुग्ने अभियान संचालन गर्न गईरहेका छौं । यो पार्टीप्रतिको आकर्षण बढिरहेको कुरा सबैले महशुस गरिरहेका छन । भविष्य छ भने एकीकृत समाजवादी पार्टीको छ ।’
अध्यक्ष नेपालले प्रदेश २ को नामाकरण जनकपुर र राजधानी पनि जनकपुरनै राख्न उपयुक्त हुने धारणा समेत राखे । उनले मधेश प्रदेश बन्न सक्छ कि सक्दैन ? भनि स्थानीय सञ्चारकर्मीहरुले सोधेको प्रश्नप्रति इन्कार गर्दै त्यस सम्बन्धमा राजनीतिक दलहरुबीच छलफल गरेर मात्रै केही बोल्न सकिने बताए ।