९ मंसिर, एजेन्सी ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफूसँग देश चलाउन पैसा नभएको र ऋण बढ्दै गएको बताएका छन् । मंगलबार इस्लामावादमा आयोजित एक कार्यक्रममा पाकिस्तानी प्रधानमन्त्री खानले यस्ताे बताएका हुन्
उनले भने, ‘जसरी घरमा आम्दानी कम र खर्च बढी हुन्छ भने त्यो घर समस्यामा रहन्छ, पाकिस्तानको पनि त्यस्तै हालत छ ।’ इमरान खानले आफूहरूको सबैभन्दा ठूलो समस्या देश चलाउन धेरै पैसा नभएको र यसले गर्दा ऋण लिइरहेको बताए ।
उनले भविष्यका लागि बचत र लगानीका हिसाबले पाकिस्तान पछाडि परिरहेको दुःखेसो गरे । इमरान खानले भने, ‘पाकिस्तानमा कर संस्कृति कहिले विकास भएन । कर छली गर्नु खराब कुरा हो । यसलाई जनताले बुझ्न सकेनन् । म यस विषयमा सोचिरहेको छु– आखिर पाकिस्तानमा कर दिने संस्कृति किन छैन !’
उनले अगाडि भने, ‘निष्कर्षमा दुई–तीनवटा कुरा आए । पहिला हामी उपनिवेश थियौं, त्यसबेला विदेशीलाई किन कर तिर्नु भन्ने सोच थियो । विदेशीको शासनमा कर छली हुनु स्वाभाविक थियो । जसले यी करहरूले हामीलाई नै फाइदा पुग्छ भन्ने बुझेका छन्, उनीहरूको सोच फरक हुन्छ ।’