९ मंसिर, सुर्खेत ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेकपा (एमाले)को झण्डा अब बाँदरको हातमा पुग्ने टिप्पणी गरेका छन् । बिहीबार सुर्खेतमा समाजवादी प्रेस संगठन कर्णाली प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले यस्तो टिप्पणी गरेका हुन् ।
एमाले महाधिवेशनमा गैँडाले झण्डा उचालेको लोगोको विषयमा टिप्पणी गर्दै अध्यक्ष नेपालले भने, ‘एमालेको झण्डा अहिले जनावरले उचालेको छ । केही समयपछि बाँदरको हातमा पुग्छ ।’
त्यस्तै उनले एमाले कम्युनिष्ट आन्दोलनबाट पतन भएका कारण उसँग एकताको कुनै सम्भावना नरहेको बताए । उनले भने, ‘अन्य पार्टीबाट आउन चाहनेहरूका लागि वार्ता, छलफल भइरहेको छ तर अहिले नै हामी अन्य पार्टीसँग एकता गर्दैनौं ।’
साथै पार्टी निर्माणको अभियानमा लागेको देशभर उत्साहजनक उपस्थिति रहेको उनले दाबी छ । न्यायालय विवादबारे बोल्दै अध्यक्ष नेपालले ५ दलीय दलको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई समस्या सुल्झाउन सुझाव दिएको पनि बताए ।