१० मंसिर, काठमाडौँ ।
नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनलाई थप उपचारका लागि चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेन्जेन लगिएको छ । डेढ महिनादेखि थाइल्याण्डको बैंककस्थित समितिभेज अस्पतालमा उपचार गराइरहेका नेता पुनलाई स्वास्थ्यमा उल्लेख्य सुधार नभएपछि थप उपचारका लागि चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेन लगिएको हो ।
पुनलाई विश्मै विरलै देखिने जटिल प्रकृतिको जण्डिसले सताएकाे छ । नेता पुनसँगै पूर्वसभामुख तथा उनकी पत्नी ओनसरी घर्ती र छोरी शीला बैंककबाट चीनको सेन्जेन उडेकाे उनका पूर्व स्वकीय सचिव तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य दुर्गा चापागाईंले जानकारी दिए । उनीहरु आजै मध्यान्न अस्पताल पुगेर उपचार सुरु हुने बताइएकाे छ ।
समितिभेज अस्पतालमा उपचार गरिरहेका चिकित्सकहरुले समेत अब यहाँभन्दा थप उपचार गर्न नसक्ने र स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार नदेखिएकाले उपचारका लागि सेन्जेन लैजान सुझाव दिएका थिए । काठमाडौंबाट बैंकक लैजाँदा जण्डिस (बिलरुविन) को तह १८ रहेकोमा उपचारका क्रममा बढेर अहिले २२ पुगेको देखिएको छ । जण्डिससँगै शरीरका अन्य अंगहरुमा पनि त्यसको असर देखिन थालेपछि नेता पुनलाई चीन लैजानु परेको चापागाईंले बताए ।
कोरोनाको संक्रमणको त्रास र आवतजावतमा चीन सरकारले लगाएको कडा मापदण्डका कारण थप उपचारका लागि चीन लैजानका लागि चिनियाँ पक्षसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि पहल गरेका थिए ।
नेता पुन वंशाणुतग रूपमा रहेको जण्डिस दोहोरिएपछि असोज १३ गते बैंककतर्फ लागेका थिए । नेपालमा हुँदा ललितपुरस्थित सुमेरू अस्पताल र यसअघि ग्रान्डी अस्पतालमा परीक्षण गराएका नेता पुन चिकित्सकहरूको परामर्श र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको सल्लाहमा बैंकक गएका हुन् ।