काठमाडौँ: चिसो बढेसँगै आगो ताप्नका लागि गुइँठा, दाउरा, पराल बाल्न थालिएपछि तराई क्षेत्रमा वायु प्रदूषणको मात्रा केही दिन यता ह्वात्तै बढेको छ ।
तराई क्षेत्रमा चिसो बढ्न थालेपछि स्थानीय तहले नै चोक चोकमा दाउरा बाल्न प्रेरित गर्ने भएका कारण घरबाहिर पराल, गुइँठा बाल्ने प्रवृत्तिले आकाश धुमिल हुन थालेको सरकारी अधिकारी बताउँछन् ।
विश्वभरको वायु प्रदूषण स्थितिबारे अद्यावधिक जानकारी दिइरहेको आईक्यूएअरडटकमको विश्व वायु गुणस्तर मापनमा काठमाडौँ उपत्यकाको वायु गुणस्तर सूचक नराम्रो अवस्थामा पुगेको उल्लेख गरिएको छ तर वातावरण विभागका उपमहानिर्देशक इन्दुविक्रम जोशी भने गतवर्षको जस्तो वायु प्रदूूषणको कारणले आपत्कालीन अवस्था घोषणा गरिहाल्नुपर्ने अवस्था आइनसकेको बताउनुहुन्छ ।
विभागको वायु प्रदूूषण अनुगमनका अनुसार शुक्रबार उपत्यकाको वायु गुणस्तर सूचक (एक्यूआई) १६७ रहेको छ । विराटनगरको एक्यूआई १९२, सिमराको २०२, पोखराको २०० रेकर्ड गरिएको छ । सामान्यतया शून्यदेखि ५० सम्म एक्यूआईलाई स्वास्थ्यका लागि राम्रो मानिन्छ भने त्योभन्दा जति बढी भयो, त्यति नै स्वास्थ्यका लागि हानिकारक मानिन्छ ।
विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार १५१ देखि २०० सम्मको एक्यूआई ‘अस्वस्थ’ र २०१ देखि ३०० सम्मको एक्यूआईको अवस्थाको वातावरणलाई ‘अति अस्वस्थ’ मानिएको छ ।
विभागका उपमहानिर्देशक जोशीले भन्नुभयो, “दाउरा, गुइँठा, पराल तथा प्लास्टिक बालेर आगो ताप्ने प्रवृत्तिमा कमी नल्याउने हो भने नेपालको वायु प्रदूूषणको अवस्था झन् बिग्रने अवस्थामा पुग्न सक्छ । वायु प्रदूूषणको सङ्कटकाल घोषणा गर्नुअघि नै हामी सचेत हुनु जरुरी छ ।”
वातावरण विभागको वायु गुणस्तर अनुगमनको रेकर्डमा बुधबार सबैभन्दा बढी वायु प्रदूषणको अवस्था सिमरा र विराटनगरमा बढी देखिएको छ । तराईको विराटनगर, भैरहवा, नेपालगञ्ज तथा धनगढीको वायु प्रदूूषणको अवस्था बिग्रेको भए पनि काठमाडौँ उपत्यकामा भने तुलनात्मक रूपमा कम देखिएको छ ।,याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।