११ मंसिर, काठमाडौँ ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेको दसौं महाधिवेशनलाई कुम्भ मेलाको संज्ञा दिएका छन् । शनिबार पालिका अधिवेशनलाई भर्चुअल माध्यमबाट उद्घाटन गर्दै दाहालले एमाले महाधिवेशनमा विचार र बहसलाई कुनै ठाउँ नदिइएको बताए ।
दाहालले पार्टीमा विचारको विकासका लागि बहस गर्नुपर्ने र संगठित संरचना चुस्त पार्नुपर्ने बताए । आफ्नै निर्वाचन क्षेत्रमा आयोजित एमालेको दसौं महिधवेशनलाई शुभकामनासम्म दिन नगएका दाहालले आलोचना गरेका हुन् ।
उनले भने, ‘हिजो हामीले कुम्भमेलाजस्तो मेला देख्यौं । जहाँ विचार र बहसलाई कुनै ठाउँ छैन । त्यहाँ जनतालाई भ्रम दिने ध्यान मात्रै छ,’ दाहालले भने । उनले एमालेको महाधिवशेनलाई ‘तथाकथित’ भएको बताए ।
राष्ट्रिय सम्मेलनको तयारीमा रहेको माओवादीले विचारको बहसलाई प्राथमिकता दिने दाहालको भनाइ थियो । ‘तथाकथित महाधिवेशन भइरहेका छन् । ती सबैभन्दा भिन्न हामी विचार, राजनीतिक लाइन, संगठनात्मक कार्यदिशाका साथै हाम्रो कार्यशैली र आचार व्यवहारलाई प्राथमकिता दिने सम्मेलन गर्दैछौं,’ उनले भने ।
एमालेको महाधिवेशन र माओवादीले आयोजना गर्न लागेको राष्ट्रिय सम्मेलनमा कुनै तुलना हुन नसक्ने दाहालको भनाइ थियो । ‘अरुका तथाकथित अधिवशेन र हाम्रो विचार निर्माण, विचार विकास र विचार संश्लेषणको, सम्मेलनको कुनै तुलना हुन सक्दैन ‘, उनकाे भनाइ छ ।