१६ मंसिर, काठमाडौँ ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसमा नेतृत्वको आलोचना र विरोध गर्न पाइने बताएका छन् ।
उनले पार्टीको १४ औं महाधिवेशनमा राम्रो लोकतान्त्रिक अभ्यास गरिने पनि बताएका छन् । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनप्रति लक्षित गर्दै प्रवक्ता शर्माले भने, ‘हाम्रो महाधिवेशनमा नेतृत्वको विरोध र आलोचना गर्न पाइन्छ । आफ्नो पर्चा र पम्प्लेट वितरण गर्न पाइन्छ ।’
बिहीबार बिहान ललितपुरमा पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस प्रवक्ता शर्माले सो कुरा बताएका हुन् । प्रवक्ता शर्माका अनुसार पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार महाधिवेशनको लोगो सार्वजनिक गर्नेछन् ।
महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्न २९ वटा मतपत्र प्रयोग हुने र एकजना मतदातालाई भोट खसाल्न कम्तिमा ४५ मिनेटदेखि एक घण्टासम्म समय लाग्ने अनुमान गरिएको उनले बताए ।
‘उत्साह, एकता, रुपान्तरणः सफल बनाऔं नेपाली कांग्रेसको १४ औं महाधिवेशन’ भन्ने मूल नाराका साथ कांग्रेसको केन्द्रीय महाधिवेशन यही मंसिर २४ गते काठमाडौंमा उदघाटन हुने छ ।
२५ गते मनोनयन दर्ता, २६ गते उम्मेदवारको अन्तिम सूची प्रकाशन र २७ गते मतदान गर्ने कार्यतालिका बनाइएको छ ।