१९ मंसिर, काठमाडाैँ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रिय सदस्यहरुले सपथ ग्रहण गरेका छन् । आईतबार काठमाडौंमा आयोजित एक समारोहका बीच नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनसहितका केन्द्रिय पदाधिकारी र केन्द्रिय सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका हुन् ।
नवनिर्वाचित केन्द्रिय अध्यक्ष लिङदेनले केन्द्रिय निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतबाट सपथ लिए । त्यसपछि नवनिर्वाचित उपाध्यक्षहरु र महामन्त्रीहरुलाई बस्नेतले सपथ गराएका थिए। त्यसलगत्तै नवनिर्वाचित केन्द्रिय सदस्यहरुलाई अध्यक्ष लिङदेनले सपथ खुवाएका थिए।
सपथग्रहण समारोहमा निवर्तमान अध्यक्षद्धय पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी उपस्थित भएका थिए भने अध्यक्षमा पराजित निवर्तमान अध्यक्ष कमल थापा भने सहभागी भएका थिएनन् । कार्यक्रममा केन्द्रिय निर्वाचन समितिका संयोजक बस्नेतले अध्यक्ष लिङदेनसहितका पदाधिकारी र केन्द्रिय सदस्यहरुलाई प्रमाणपत्र समेत वितरण गरेका थिए ।
काठमाडौंको भृकटीमण्डपमा आज (आईतबार) बिहान सम्पन्न एकता महाधिवेशनले लिङदेनको नेतृत्वमा ८ जना पदाधिकारी र १४१ केन्द्रिय सदस्य निर्वाचित भएका थिए । राप्रपाको १९९ सदस्यीय केन्द्रिय कार्य समितिमा ५० जना सदस्य अध्यक्षले मनोनित गर्नेछन ।