२० मंसिर, काठमाडौँ ।
नेपालमा ओमिक्रोन भेरियन्टबाट संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।
मन्त्रालयका अनुसार ६६ वर्षीय विदेशी नागरिक र उनकाे सम्पर्कमा आएका ७१ वर्षीय नेपाली नागरिकलाई ओमिक्रोन भेरियन्ट देखिएको हाे।
उनीहरू दुवैले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएको र पीसीआर रिपोर्ट नेगेटिभसहित नेपाल प्रवेश गरेको सोमबार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सहप्रवक्ता समीर अधिकारीले जानकारी दिए ।
दुवैजना अस्पतालको आइसोलेसन कक्षमा रहेको र गम्भीर लक्षण नदेखिएको पनि मन्त्रालयको भनाइ छ । उनीहरूसँग सम्पर्कमा आएका सबैको कन्ट्याक्ट ट्रेसिङ गरिएको पनि मन्त्रालयले जनाएकाे छ ।
सबैभन्दा पहिले दक्षिण अफ्रिकामा देखिएको कोरोनाको बी.१.१.५२९ भेरिएन्टलाई २६ नोभेम्बरमा विश्व स्वास्थ्य संगठनले ‘भेरिएन्ट अफ कन्सर्न’ भन्दै ओमिक्रोन नामाकरण गरेको थियो । अहिलेसम्म दक्षिण एसियाका भारत र श्रीलंकासहित विश्वका ३९ देशमा कोरोनाको यो भेरिएन्ट फैलिइसकेको छ ।