२० मंसिर, काठमाडाैँ ।
नेपालका प्रमुख राजनीतिक दलहरु अहिले पार्टी महान उत्सवको महाधिवेशनको लहरमा छन् । एमाले र राप्रपाले सम्पन्न गरिसकेका छन् भने कांग्रेस र माओवादी तयारीमा छन् । पूरानो दल नेपाली कांग्रेसअहिले महाधिवेशनको संघारमा छ ।
मंसिर २४ देखि हुने महाधिवेशनका लागि प्रतिनिधी काठमाडौ पुग्न थालेसँगै कांग्रेसले प्रतिनिधिका लागि गरिने आतिथ्यताको तयारी पनि लगभग पूरा गरेको छ । नेपाली काँग्रेसले १४ औं महाधिवेशनमा भाग लिन काठमाडौं आउने प्रतिनिधिहरूका लागि खान र बस्नका लागि करिब साढे तीन करोड खर्च लाग्ने अनुमान गरेको छ । नेपाली काँग्रेसले प्रतिनिधिहरूको बाटो खर्च सम्बन्धित व्यक्ति वा जिल्लाबाटै व्यहोर्ने नीति लिएको छ भने महाधिवेशन प्रतिनिधिहरूलाई निश्चित अवधिसम्म आवास र खाना खर्च पार्टीले व्यहोर्नेभएको छ ।
खानाको मेन्युमा बिहान खाजा र खाना अनि दिउँसो चिया र बेलुकाको खाना महाधिवेशनस्थल भृकुटीमण्डपमै मिलाइने भएको छ । होटलमा चाहिँ प्रतिनिधिले सुख्खारुपमा सुत्नमात्रै पाउने छन् । काँग्रेसले महाधिवेशन प्रतिनिधिका लागि काठमाडौंका करिब ८ सय वटा होटलहरू बुकिङ गर्ने भएको छ । भोजन तथा आवास व्यवस्थापन समितिका संयोजक सुरेन्द्रराज पाण्डेका अनुसार महाधिवेशन प्रतिनिधिको आवासका लागि ४५ सय बढी बेडको व्यवस्था गरिएको छ ।
पाण्डेका अनुसार काँग्रेस महाधिवेशन प्रतिनिधिलाई २३ गतेदेखि २७ गतेसम्म आवास र २४ गतेदेखि भोजनको व्यवस्था मिलाएको छ । टुरिस्ट स्ट्याण्डरको होटलमा बेडहरू बुकिङ गरिएको पाण्डेले जानकारी दिएका छन् । उनका अनुशार होटेलमा सालाखाला ८ सयका दरले बेडहरू बुकिङ गरिएको छ ।
यसअघि महाधिवेशन सम्पन्न गरेको नेकपा एमालेले भने ५ करोड खर्च हुने बताएकोमा दुई दिन महाधिवेशन लम्बिदा थप २ करोड खर्च थपिएको बताएको थियो । महाधिवेशनका लागि एमालेले चितवन रोजेको थियो । त्याहा ७ स्टार होटलका सेफ लगेर हरेक छाक मासुसहितका परिकारको व्यवस्था गरिएको थियो ।