२१ मंसिर, काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामाबाट न्यायालय सुधार नहुने बताएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाअभियोग लगाउन सहयोग माग्न आफ्नै निवास बालकोट आएका नेपाल बार र सर्वोच्च बार एसोसिएसनका पदाधिकारीसहित कानुन व्यवसायीसँगकाे छलपलमा उनले प्रधानन्यायाधीशको राजीनामा वा महाभियोगबाट न्यायिक सुधारको सुरुवात नहुने बताएका हुन् ।
उनले भने, ‘तपाईंहरुको कुरा थुप्रै जायज छ । तर (प्रधानन्यायाधीशको राजीनामा) प्रस्थान विन्दु होइन, अन्त्य हो । त्यसबाट न्यायिक सुधार अगाडि जान्छ भन्ने होइन, पूर्णविराम लगाउने कुरा हो ।’
पूर्वप्रधानमन्त्री ओलीले क्यान्सरको उपचार कुखुरा मन्साएर नहुने टिप्पणी गरे । उनले न्यायालय अहिले स्वच्छ र निष्पक्ष दुवै नभएको जिकिर गरे । ओलीले भने, ‘सैद्धान्तिक रुपमा तपाईंहरुको कुरासँग असहमति जनाउनुपर्ने कुरा छैन। न्याय प्राप्त गर्नु नागरिकको नैसर्गिक अधिकार हो। त्यो दिने थलो भनेको सर्वोच्च अदालत हो। संविधान र कानुनअनुसार न्याय दिनुपर्छ, त्यसका लागि उ स्वच्छ र निष्पक्ष हुनुपर्दछ । तपाईंहरुको कुरासँग हाम्रो असहमित के छैन भने न्यायलय स्वच्छ र निष्पक्ष हुनुपर्छ। स्वच्छताको कुरा उठाउनु भयो निष्पक्षताको कुरा उठाउनुभएन। आफैं अधिवक्ता पनि भएर हो कि?’
ओलीले प्रधानन्यायाधीशले राजीनामा गर्दैमा वा महाभियोग लगाएर हटाउँदैमा न्यायालय सच्याउने सुरुवात नहुने पनि बताए ।