२१ मंसिर, काठमाडौं ।
नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा शेरबहादुर देउवालाई परास्त गर्न शशांक कोइरालाले सभापतिको दाबी छाडेका छन् । मंगलबार नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा संस्थापनइतर पक्षबाट साझा उम्मेदवार तय गर्न बसेको बैठकमा महामन्त्री सशांक कोइरालाले रामचन्द्र पौडेललाई समर्थन जनाएका हुन् ।
बैठकमा कोइरालाले भने – रामचन्द्रजी सिनियर पनि हो । मलाई उहाँले एकपटक सहयोग गर्नुस भन्नुभएको छ । उहाँकै नेतृत्वमा चुनावमा जानू उपयुक्त हुन्छ ।
त्यसअघि वरिष्ठ नेता पौडेलले सभापतिका आकांक्षी नेताहरुसँग एक्लाएक्लै छलफल गरेका थिए । पाैडेलले महामन्त्री कोइरालालाई आफूलाई समर्थन गर्न आग्रह गर्दै अरु नेताहरुलाई आफूले मिलाउने बताएका थिए । जवाफमा कोइरालाले ‘तपाईका लागि छाड्छु, अरुलाई मिलाउनुस्’ भनेर जवाफ दिएकाे कांग्रेसका एक केन्द्रीय सदस्यले बताए ।
कांग्रेस सभापतिका लागि सो समूहबाट पौडेलसहित सशांक कोइराला, शेखर कोइराला र प्रकाशमान सिंहको दावी छ । साझा उम्मेदवार बनाउन कार्यकर्ताले दबाब दिइरहेका छन् ।
अहिले नेताहरुकाे छलफल सकिएकाे छ । अर्काे बैठक भाेली बिहान ९ बजे बस्ने भएकाे छ ।