२३ मंसिर, काठमाडाैँ ।
नेपाली कांग्रेसको संस्थापनइतर पौडेल समूहमा सभापतिको एकजना मात्रै उमेदवार बनाउने प्रयास विफल बनेको छ । बुधबार दिनभरी छलफल गरे पनि आकांक्षीहरु एक अर्कालाई छोड्न तयार नभए पछि सभापतिको एकजना मात्रै उमेदवार बनाउने प्रयास विफल भएको हो ।
बिहान काठमाडौँको एक पार्टी प्यालेसमा भएको छलफल निष्कर्षमा पुग्न नसके पछि अपरान्ह पुन बैठक बसेको थियो । सभापतिका उम्मेद्वार समेत रहेका कांग्रेस नेता प्रकाश मान सिंहको निवाश चाक्सीबारीमा बसेको दोश्रो बैठकले पनि साझा उम्मेद्वार छान्न सकेन ।
सभापतिको उम्मेद्वार बन्ने भनिएका नेता रामचन्द्र पौडेल र डा. शशांक कोइरालाले आफूहरु सहमतिको बाधक नबन्ने भन्दै आकांक्षीहरु शेखर कोइराला र प्रकाशमान सिंहलाई कुनै एक जनामा निर्णय लिन आग्रह गरिएको थियो । दुवै नेताले आफ्नो अडान नछोडे पछि पौडेल पक्षले साझा उम्मेदवार छान्न नसकेको हो । यस सँगै संस्थापन इतर समुहले साझा उम्मेद्वार दिने सम्भावना क्षीण बन्दै गएको छ ।
चाक्सीबारीको बैठक पछि संचारकर्मीहरु सँग बोल्दै नेता गुरुराज घिमिरेले अन्तिम प्रयासको लागि बिहीबार बिहान ८ बजे अनुपम फुडल्याण्डमा अर्को बैठक बसेर निस्कर्ष निकाल्ने जानकारी दिए।