२३ मंसिर, काठमाडाैँ ।
विना कसुर भारतको जेलमा चार दशक विताएका इलामका दुर्गाप्रसाद तिम्सिनालाई भारतीय अदालतले उनी रिहा भएको १० महिनापछि क्षतिपुर्ति दिन सरकारका नाममा आदेश दिएको छ । विनाकसुर जेलमा थुनिएर गत चैतमा ४० वर्षपछि रिहा भएका तिम्सिनालाई भारु पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिन कलकत्ताको उच्च अदालतले पश्चिम बंगाल सरकारलाई आदेश दिएको हो ।
मुख्य न्यायाधीश प्रकाश श्रीवास्तव र न्यायाधीश राजषिर् भारद्वाजको संयुक्त इजलासले तिम्सिनाको खातामा तत्काल भारु पाँच लाख अर्थात नेपाली आठ लाख रुपैयाँ जम्मा गर्न आदेश दिएको छ । दुर्गाप्रसादको मुद्दामा बहस पैरवी गरेका कोलकाताका वकिल हिरक सिन्हाले उच्च अदालतले ७ डिसेम्बरको दिन भारतस्थित नेपाली महावाणिज्य दूतावासमार्फत् दुर्गाप्रसादको बैंक खातामा पाँच लाख भारु पठाउन आदेश दिएको बताएका छन् । कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वर पौडेलले अबको ६ साताभित्र सरकारले तिम्सिनाकै खातामा रकम जम्मा गर्नुपर्ने बताएका छन् । उनले दुर्गाप्रसादको बैंक खाता नभए, उनको नजिकको नातेदारको खातामा रकम पठाइने पनि बताए ।
बुधबार अदालतले गरेको आदेशमा ‘यो क्षतिपूर्ति दिएका कारण अन्य हक अधिकारबाट कुन्ठित गरिने छैन ।’ भनिएको छ । महावाणिज्यदूत पौडेलले यो आदेश सकारात्मक भएको जानकारी दिँदै यसले थप क्षतिपूर्तिको माग दाबी गर्न मार्ग प्रशस्त गरेको बताएका छन् ।
जेलबाट रिहा गर्ने बेलामा अदालतले क्षतिपूर्तिको विषयलाई गम्भीरताका साथ उठान गर्दै बंगालको जेल प्रशासनका नाममा आदेश गरेको थियो । सोही अनुरुप जेल प्रशासनले हालै ‘जीवन निर्वाहका लागि तत्काल ५ लाख दिन सकिन्छ’ भनि अदालतलाई जवाफ फर्काएको थियो ।
इलामको माई नगरपालिका–१० बाट दुर्गाप्रसाद १९ वर्षको छँदा तोरी बेच्न भन्दै मंगलबारे गएका थिए । त्यहाँबाट आएको पैसा लिएर उनी काम खोज्दै दार्जिलिङ पुगेका थिए । दार्जिलिङमा एक युवतीको हत्या आरोपमा उनी पक्राउ परेका थिए । आरोप प्रमाणित नभएपछि २०७७ चैत ४ गते कोलकाता उच्च अदालतले दुर्गाप्रसादलाई रिहा गर्न आदेश दिएको थियो ।
चैत ७ गते उनी कोलकाताको दमदम कारागारबाट रिहा भएका थिए । रिहा भएर इलाम घर आएका उनलाई स्वास्थ्यमा समस्या भएको र परिवारको आर्थिक अवस्था पनि कमजोर भएको विषय बाहिर आएपछि प्रदेश १ सरकारले उनको उपचारको प्रवन्ध मिलाएको थियो ।