२३ मंसिर, काठमाठौं ।
भारतीय चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपीन रावतको निधनप्रति नेपाली सेना दु:ख व्यक्त गरेको छ। बिहीबार विज्ञप्ति जारी गर्दै सेनाले रावतको निधनप्रति दु:ख व्यक्त गरेको हो।
नेपाली सेनाले एक सच्चा मित्रलाई गुमाएको जनाएको छ। रावतको निधनबाट भारतीय सेनालाई अपूरणीय क्षति भएको समेत सेनाले बताएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले २०१७ मार्च २९ मा भारतीय सेनाध्यक्षको हैसियतमा रावतलाई नेपाली सेनाको मानार्थमहारथीको दर्जाबाट सम्मान गरेकी थिइन्। जनरल रावत सेना दिवस तथा महाशिवरात्रीको अवसरमा सन् २०१८ फेब्रुअरी १३ मा नेपाली सेनाले आयोजना गरेको सैनिक कार्यक्रममा सहभागी भएका थिए।
रावतको निधनलगत्तै प्रधानसेनापति प्रभुराम शर्माले भारतीय सेना र जनरल रावतको परिवारलाई बिहीबार साँझ टेलिफोन गरी समवेदना दिएका थिए। प्रधान सेनापति शर्माले बुधबार समवेदना पत्रसमेत पठाएका छन्।
शुक्रबार भारतीय सेनाको हेलिकोप्टर दुर्घटना हुँदा विपीन राउत, उनकी पत्नीसहित १३ जना सैनिक अधिकारीको मृत्यु भएको थियो ।