२३ मंसिर, एजेन्सी ।
अन्तरिक्ष अझै पनि विश्वका वैज्ञानिकहरुका लागि रहस्य र रोचकताले भरिएको छ । असंख्य तारामण्डल तथा ग्रहहरु, ब्ल्याक होल र उल्का बर्षा जस्ता अन्तरिक्ष घटनाहरु मानिसका लागि रोचक बिषयका बन्ने गरेका छन् । विभिन्न ग्रहका अध्ययनमा जुटिरहेका बैज्ञानिकहरुले अहिलेपनि अन्तरिक्ष भित्र नयाँ नयाँ तथ्यहरु फेला पारिरहेका छन् । अध्ययनलाई निष्कर्षमा पुर्याउन कै लागि अहिले पनि विभिन्न देशहरुले अन्तरिक्ष अभियान जारी राखेका छन् । पृथ्वीको सतहभन्दा १०० कि.मी. माथिबाट सुरु हुने अन्तरिक्ष यात्रा वैज्ञानिक खोजका लागि केन्द्रीत हुँदै आएकोमा अहिले भने अन्तरिक्ष पर्यटकको केन्द्र बन्दै गएको छ ।
केही समय अघि पहिलोपटक अमेरिकी अर्बपति जेफ बेजोस र ब्रिटिश रिचार्ड ब्रान्सनपनि आ–आफ्नो निजी कम्पनीको रकेटमा अन्तरिक्ष यात्रा कस्तो हुँदो रहेछ भन्ने हेर्न पर्यटकको रुपमा गएका थिए। त्यो यात्रालाई अन्तरिक्षमा पर्यटक आकर्षित गर्ने एक सफल यात्राको रुपमा वैज्ञानिकहरुले लिएका थिए । त्यसपछि रुसले पनि अक्टोबरमा चलचित्र निर्देशक क्लीम सीपेन्को र अभिनेत्री युलिया पेरेशील्डलाई चलचित्र छायाङ्कनका लागि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन आईएसएस लगेको थियो ।
तिनै यात्रालाई निरन्तता दिदै जापानी अर्बपति युसाकु मेजावा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन आईएसएसको यात्राका लागि बुधवार प्रस्थान गरेका छन् । अन्तरिक्ष यात्रामा जाने अर्बपतिको सूचीमा थपिँदै मेजावाले त्यहाँ गल्फ खेल्नेसहित १०० वटा कुरा गर्ने बताएका छन् । जोजोटाउनजस्ता ईकमर्श कम्पनीहरूमार्फत धनी बनेका मेजावा कुनै बेला एउटा रक सङ्गीत टोलीका ड्रमर रहेका थिए । काजाखस्तानबाट उनलाई बोकेको एउटा रुसी रकेट अन्तरिक्षमा प्रक्षेपण गरिएको छ । लामो समययता पहिलो अन्तरिक्ष पर्यटक बनेका उनले आईएसएसमा १२ दिन बिताउने बताइएको छ ।
उनले सन् २०२३ मा चन्द्रमाको यात्रा गर्न सुरु गरेको अभियानको एउटा कदमको रूपमा यसलाई लिइएको छ । बुधवार मेजावासँगै रुसी अन्तरिक्षयात्री एलेक्जान्डर मिसुर्किन र भिडिओ निर्माता योजो हिरानो रकेटमा छन् । हिरानोले मेजावाको यूट्यूब च्यानलका लागि यात्राको भिडिओ खिच्नेछन्। मेजावाले यात्राअघि कठिन तालिम गरेका थिए। तालिमका क्रममा उनलाई तेस्रो खाटमा सुत्न, घुमिरहेको मेचमा बसिरहन र लामो समय ब्याडमिन्टन खेल्न लगाइएको थियो। ती सबै अभ्यास उनले आफ्नो सामाजिक सञ्जालमा राखेका छन्।
उनले अन्तरिक्षमा आफ्नो साथी अन्तरिक्षयात्री चिनाउने र आईएसएसभित्र कस्तो छ भनेर देखाउने जस्ता अपेक्षाकृत कार्यका साथै गल्फ खेल्ने, चुइङगम फुक्ने र कागजको प्लेन उडाउने जस्ता अनौठा कुराहरू पनि गर्नेछन् । मेजावाले यात्राका लागि आठ करोड ८० लाख अमेरिकी डलर खर्च गरेको बताइन्छ । मेजावा जापानका सबैभन्दा धनी व्यक्तिको सूचीमा ३०औँ स्थानमा छन् र उनीसँग झन्डै दुई खर्ब अमेरिकी डलर बराबर सम्पत्ति रहेको बताइन्छ। विश्वमा हाल मानिस सहितको अन्तरिक्ष यानलाई पृथ्वीको कक्ष बाहिर पुर्याउने क्षमता रुस, अमेरिका र चीनसंग मात्रै छ ।
