२४ मंसिर, काठमाडौँ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली दलहरूमा राजनीतिक संस्कार रहेको बताएका छन् । शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा कांग्रेसको महाधिवेशनमा सम्बोधन गर्दै दाहालले नेपाली नेताहरूले एक अर्काले हातेमालो गरेर एक अर्कालाई प्रधानमन्त्री बनाएकाे बताए ।
त्यसअघि भारतीय जनता पार्टीका नेता हर्ष वर्द्धनले एउटै मञ्चमा यति धेरै पूर्वप्रधानमन्त्री नदेखेको बताएका थिए । हर्ष वर्द्धनलाई जवाफ दिँदै दाहालले भने, ‘उहाँलाई यो थाहा छैन कि यी पूर्वप्रधानमन्त्रीहरू एकले अर्कालाई बनाएका हुन् । यो हाम्रो संस्कृति हो । हामी आपसमा विचारमा राजनीतिमा बेलाबेलामा निकै चर्को प्रतिस्पर्धा पनि गर्ने गरेका छौं र जरुरी पर्दा हामीले एकले अर्कालाई हातेमालो गरेर प्रधानमन्त्री बनाउन पछि परेका छैनौं । यो संस्कृति पनि भारतीय जनता पार्टीका नेतालाई भन्न चाहेको थिए ।’
लिङ्देनले राजनीति दलका नेताहरुलाई गाउँघरमा कुन चोरको कार्यक्रम भनेर भन्ने गरेको बताएका थिए। उक्त कुरा गलत भएको प्रचण्डले बताएका थिए।
उनले भने, ‘यहाँ विचार प्रस्तुत हुने क्रममा एकजना वक्ताले नेताहरू आए भने गाउँघरमा चोर आए भन्छन् भनेको सनुन्नुभयो । होइन गलत हो । यो के को निम्ति भनियो ? जतिबेला लोकतान्त्रिक राजनीतिक दल र लोकतन्त्रको निम्ती शान्तिको निम्ति संघर्ष गरेका राजनीतिक दल र नेताहरूलाई बद्नाम गर्न खोजिन्छ । त्यो निरंकुशता र तानाशाही जन्माउने षडयन्त्र हो भनेर बुझ्न जरुरी हुन्छ । कहीँ न कहीँ तानाशाही त्यसरी ने आउने गर्छ । त्यसकारण हामी सतर्क हुन जरुरी छ । ‘