२४ मंसिर, काठमाडौं ।
उपाधि दावेदार मनाङ मर्स्याङ्दी क्लब कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार भएको खेलमा फ्रेन्ड्स क्लबलाई २–० ले पराजित गर्दै मनाङ शीर्षस्थानमा उक्लिएकाे हाे ।
अपराजित रहेको मनाङको ४ खेलबाट १० अंक पुगेको छ । एक खेल कम खेलेको अपराजित सातदोबाटो र मच्छिन्द्रको ७ अंक छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मनाङको जितमा नाइजेरियन फरवार्ड ओलावाले ओलाडिपो अफिज र दिनेश राजवंशीले गोल गरे । आफिजले पहिलो हाफमा तथा दिनेशले दोस्रो हाफमा गोल गरेका थिए ।
४१औं मिनेटमा आफिजले गोल गर्दै मनाङलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । उनले दिनेश राजवंशी हुँदै पुजन उपरकोटीको लामो क्रसलाई कप्तान अन्जन विष्टले दिएको क्रसलाई अनमार्क रहेका अफिजले क्लोज रेन्जबाट हेडरमार्फत गोल गरेका थिए ।
७३औं मिनेटमा दिनेश राजवंशीले गोल गर्दै मनाङको अग्रता दोब्बर पारे । पुजन उपरकोटीको फ्रिकिकलाई उनले हेडरमार्फत सदुपयोग गरेका थिए । ७७औं मिनेटमा अनिल महर्जनको क्रसमा रोनेल एनथोनी पउलको हेडर पोस्ट नजिकैबाट बाहिरिदा फ्रेन्ड्स अग्रता कम गर्नबाट चुक्यो ।
पराजित फ्रेन्ड्स ४ खेलबाट २ अंक जोडेर १२औं स्थानमा झरेको छ । समान दुई अंक नै रहेपनि फ्रेन्ड्स गोलअन्तरमा न्युरोड टिम एनआरटी र हिमालयन शेर्पा क्लबसँग पछि परेको छ ।