२५ मंसिर, काठमाडौँ ।
नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने चुनावका लागि सभापति शेरबहादुर देउवाको प्यानलले पूर्णता पाएको छ ।
उपसभापति कृष्णप्रसाद सिटौलासँग गठबन्धन गरेर देउवाले आफ्नो प्यानल तयार पारेका हुन् । देउवाले विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का उपसभापतिको उम्मेदवार बनाएका छन् । यसैगरी महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेलले उम्मेदवारी दिने तयारी गरेका छन् ।
यस्तै सहमहामन्त्रीका लागि आदिवासी जनजातिको तर्फबाट भीष्मराज आङ्देम्बे, दलित तर्फबाट मानबहादुर बिक, महिलामा डिना उपाध्याय, मधेशीमा महेन्द्र यादव, खस आर्यमा किशोर सिंह राठौर, थारुमा उमाकान्त चौधरी, मुस्लिममा फरमुल्लाह मन्सुर र पीछडिएको क्षेत्रबाट जीवन शाही उम्मेदवार बन्ने भएका छन् ।
यसअघि प्रवक्ता विश्वप्रकाश शर्मा पनि देउवा प्यानलबाटै उम्मेदवार बन्ने चर्चा भए पनि प्रदीप पौडेल महामन्त्रीको उम्मेदवार बन्ने भएपछि असन्तुष्ट बन्दै देउवा प्यानलबाट बाहिरिएका छन् । विश्वप्रकाशले प्रकाशमान सिंहकाे प्यानलबाट महामन्त्रीकाे उम्मेदवारी दिएका छन् ।