२६ मंसिर, धादिङ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका वडा नं २ बिहानी पम्प नजिकै आज बिहान मोटरसाइकल र स्कुटर ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।
बा ४४ प ९८३६ नं. को पल्सर मोटरसाइकल र बा ६३ प ४८३४ नं. को स्कुटर एक आपसमा ठोक्किएर मोटरसाइकललाई ना ६ख ७४९ नं. को ट्रकले ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए ।
दुर्घटनामा परी मोटरसाइकलमा सवार बेनीघाट रोराङ गाउँपालिका–१० का ३३ वर्षीय सुकबहादुर चेपाङको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा परी घाइते भएका सिद्धलेक गाउँपालिका–१ का २५ वर्षीय सुरेन्द्र वाइबा र २८ वर्षीय सोनाम घलेको गजुरीमा रहेको स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । राजमार्गमा दुर्घटना भएपछि एक घण्टा यातायात अवरुद्ध भएको थियो । सवारी साधन हटाएपछि यातायात साधन सञ्चालन भएका छन् ।


