१ पुस, काठमाडौं ।
आगामी १२ माघमा तय भएको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोगले आह्वान गरेको छ ।
निर्वाचन प्रयोजनका लागि आजदेखि १० पुससम्म आयोगमा निवेदन दिएर दल दर्ता गर्न भनिएको हो । राष्ट्रियसभा सदस्यको आगामी फागुन २० गते रिक्त हुने १९ सदस्य पदका लागि हुने निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई दल दर्ता गर्न भनिएको हो ।
उक्त निर्वाचनका सन्दर्भमा यसअघि नै निर्वाचन कार्यक्रम र कार्यतालिका प्रकाशित भइसकेको छ । निर्वाचन कार्यक्रम अनुसार पुस १७ गते मतदाता नामावली प्रकाशित गर्ने कार्यतालिका रहेको छ ।
राष्ट्रियसभाका सदस्यमध्ये फागुन २० गते पदावधि समाप्त हुनेमा नेकपा (एमाले)का आठ, नेकपा (एकीकृत समाजवादी)का चार, नेकपा (माओवादी केन्द्र)का चार र नेपाली कांग्रेसका तीन सदस्य छन् । निर्वाचनका लागि उम्मेदवारको मनोनयन पत्र दर्ताको कार्यक्रम भने पुस २० गते हुनेछ ।