४ पुस, काठमाडौं ।
नेपालका किरात समुदायको मुख्य पर्व उधौली पर्व काठमाडौं लगायत देशभर आज मनाइँदै छ ।
नेपाली किरात समुदायका विशेषगरी राई, लिम्बु, याक्खा, सुनुवार, थामी, सुरेल, जिरेल, हायु, छन्तयाल, धिमाललगायतका जातजातिको मुख्य पर्वको रुपमा रहेको उधौली पर्व देशभर पुजाआजा गरि मनाइँदै छ । मुलरुपमा यी जातजातिले आ—आफ्नो पुख्र्यौली थलोमा उधौली पर्व मनाउने गरेपनि पछिल्लो समय विभिन्न शहरमा पनि मनाउन थालिएको छ ।
आइतबार किराती समुदायले ललितपुरको सानो हात्तिवनस्थित किरात माङहिम (मन्दिर)मा सामूहिक रुपमा पूजाआजा गरेका उधौली पर्व मनाएका छन् । यस दिनमा किराती समुदायले आफ्नो पुर्खा र प्रकृतिलाई सम्झने र सम्मानस्वरुप पुजाआजा गर्ने गरेका छन् ।
खेतमा लगाएको बाली भित्राइसकेको यो समयमा बाली लगाउनेदेखि भित्र्याउने बेलासम्म प्रकृतिले वातावरण अनुकुल पारिदिएको भन्दै प्रकृतिलाई धन्यवाद दिनु यस पर्वको विशेषता भएको किरात राई यायोक्खाका महासचिव जनक राई बताउछन् । उनले भने – ‘किराती समुदायहरु पितृ र प्रकृतिलाई मान्छन् ।
पितृलाई आज पूजा गर्ने र पितृ पुर्खाबाट सधैँ आर्शिवाद लिइराख्ने र पितृ पुर्खालाई सम्झना सम्मान गर्ने हो । उधौली भनेको जाडो महिना लाग्यो, अन्नबालि खेतमा पाक्यो र थन्क्याइसकियो भनेपछि थन्काउने सम्मको अवधिसम्ममा प्रकृति जुन अनुकुल भयो, त्यसले गर्दाखेरी अन्न ढिकुटीमा थन्क्याउन पायौँ । यसले गर्दा प्रकृतिलाई धन्यवाद दिने हो ।’
हात्तिवनस्थित किरात माङहिममा सामूहिक रुपमा पूजा
आइतबार हात्तिवनस्थित किरात माङहिममा सामूहिक रुपमा पूजा गर्न किराती समुदायआ–आफ्नो मौलिक पहिरन र पहिचानमा भेला भएका थिए । पछिल्ला दिनहरुमा पुख्र्यौली थलोमा मात्र होइन यो समुदायका मानिसहरु जहाँ जहाँ छन् त्यहीँ सामूहिक रुपमा पर्व मनाउन थालेका छन् ।
किरात राई यायोक्खाका अध्यक्ष दिवस राई शहरकेन्द्रीत भएर पर्व मनाएपनि मौलिकतालाई मर्न नदिने बताउँछन् । पूजा गर्दाखेरी पूजारीले मात्रै पूजा गर्नुपर्ने चलन रहिआएकोमा आजभोली पूजारी(नछुङ)को अभाव हुने गरेको उनले बताए ।
यद्यपी नछुङलाई खोजेर ल्याएर भएपनि पूजाआजा गर्ने गरिएको र उहाँहरुको प्रोत्साहन र वृति विकासका लागि समुदायले योजना बनाइरहेको उनको भनाई छ । नयाँ पुस्तालाई पनि यस पर्व मनाउनका लागि उत्प्रेरित गरिरहेको र मौलिक संस्कृतिलाई बचाउनका लागि नयाँ पुस्तालाई पनि सिकाएर अघि बढ्ने उनले बताए ।


