विश्वविद्यालयले शैक्षिक तथा व्यवस्थापकीय सुधार गर्न आवश्यक छः प्रधानमन्त्री देउवा

विश्वविद्यालयले शैक्षिक तथा व्यवस्थापकीय सुधार गर्न आवश्यक छः प्रधानमन्त्री देउवा

५ पुस, काठमाडौं ।
प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले विश्वविद्यालयको शिक्षा व्यवहारिक, जीवनोपयोगी, समाजको विकास र रूपान्तरणमा सहयोगी हुनुपर्ने बताएका छन् ।

त्रिविको ४७औं दीक्षान्त समारोहलाई सोमबार सम्बोधन गर्दै उक्त विचार व्यक्त गरेका हुन् । ‘मुलुकको अर्थतन्त्रलाई तीव्र रुपान्तरण गर्न सिर्जनात्मक, नव–प्रवर्तनशील र युग सुहाउँदो वैज्ञानिक एवं प्राविधिक जनशक्तिको उत्पादन हुनुपर्दछ,’ प्रधानमन्त्री देउवाले भने, ‘आजको प्रतिस्पर्धी विश्व शैक्षिक बजारमा विश्वविद्यालयले युग सापेक्ष शैक्षिक तथा व्यवस्थापकीय सुधार गर्दै अघि बढ्न आवश्यक छ ।’

समारोहका प्रमुख अतिथि तथा आईआईटी दिल्लीका निर्देशक प्राध्यापक भी रामगोपाल राओले विश्व अप्ठारो परिस्थितिमा गुज्रिएको उल्लेख गरे ।

‘जटिल परिस्थितिमाझ ‘कोभिड ब्याच’ पुस्तालाई दीक्षित तुल्याउनु आफैंमा चुनौतीपूर्ण छ,’ आविस्कारलाई नयाँ मन्त्रका रूपमा ग्रहण गर्नुपर्ने उल्लेख गर्दै उनले भने, ‘यो चुनौतीलाई आईआईटी दिल्लीले अनलाइन शिक्षाका माध्यमबाट नयाँ अवसरको खोजी गरेको छ । अहिले त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गर्न पाउँदा खुसी लागेको छ ।’

त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले ५९औं ग्रेस लिस्टमा समावेश भएका २९ हजार ७ सय २९ जना दीक्षित भएको जानकारी दिए । त्यसमा विद्यावारिधि, डिएम–एमसीएच, दर्शनशास्त्री (एमफिल), स्नातकोत्तर र स्नातक तहका छन् ।

कोभिड–१९ महामारीपछि दुई वर्षयता बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय हातामा समारोहको आयोजना गरिँदै आएको छ । दीक्षान्तमा उपाधि लिने, स्नातकोत्तर र स्नातकमा सर्वोत्कृष्ट विद्यार्थी मात्र आमन्त्रण गरिएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.