५ पुस, काठमाडौँ ।
तीन दिनपछि खुलेको सेयर बजार आज पनि ओरालो लागको छ ।
आइतबार सार्वजनिक बिदाको दिन परेकाले बन्द भएको सेयर बजारमा सोमबार कारोबारको सुरुवातसँगै गिरावट आएको थियो। सेयर बजारमा पछिल्लो एक महिनादेखि निरन्तर रुपमा गिरावट आइरहेको छ।
आज पनि नेप्से परिसूचक १७.९३ अंकले घटेर २३५८.८१ विन्दुमा झरेको छ। त्यस्तै ठूला कम्पनीको मूल्य मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.३४ अंकले घटेर ४५१.१९ अंकमा झरेको छ।
सोमबार कारोबारमा आएका २३१ कम्पनीको ५४ लाख ३९ हजार ८७ कित्ता सेयर २ अर्ब ४६ करोड ४६ लाख ८९ हजार ८६२ रुपैयाँमा कारोबार भएको छ। आज पनि कारोबार रकममा खासै सुधार भएन।
नेप्से कारोबारमा आएका १३ उपसमूहको उत्पादन तथा प्रशोधन र माइक्रोफाइनान्स दुई उपसमूहको सूचक बाहेक ११ उपसमूहको सूचक नकारात्मक देखिएको छ। आज उत्पादन तथा प्रशोधन उपसमूहको सूचक सबैभन्दा धेरै ३.५२ प्रतिशतले बढेको छ भने विकास बैंक उपसमूहको सूचक सबैभन्दा धेरै २.२३ प्रतिशतले घटेको छ।
आज नेप्से परिसूचकमा गिरावट आए पनि हिमालयन डिस्टिलरी र गोर्खाज फाइनान्सको सेयरमूल्य १० प्रतिशतले बढेको छ।
त्यस्तै कृषि विकास बैंक, महुली सामुदायिक लघुवित्त, शिव श्री हाइड्रोपावर र जनउत्थान सामुदायिक लघुवित्तको सेयर मूल्य बढेको छ। आज धेरै मूल्य गिरावट हुनेमा माउन्टेन इनर्जी नेपाल, नारायणी डेभलपमेन्ट बैंक, मैलुङ खोला जलविद्युत कम्पनी , तेह्रथुम पावर र समृद्धि फाइनान्स छन्।