८ पुस, एजेन्सी ।
बेलायतमा एकै दिनमा एक लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यहाँ गत हप्ता सबैभन्दा बढी ९३ हजार ४५ जनामा कोरोना देखिएको थियो । बुधबार एक लाख ६ हजार १२२ जनामा कोरोना संक्रमण देखिएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । यो एकै दिनमा अहिलेसम्मकै धेरै कोरोना संक्रमण हो ।
बुधबार थपिएका संक्रमितसंगै बेलायतमा कोरोना संक्रमितको संख्या एक करोड १६ लाख ४७ हजार ४७३ पुगेको छ । संक्रमण दर उच्च रहेपनि कोरोना संक्रमणका कारण हुने मृत्यु हुने र अस्पताल भर्ना हुनेको संख्या भने वृद्धि नभएको जनाइएको छ ।
पछिल्लो २४ घन्टामा बेलायतमा कोरोनाका कारण १४० जनाको ज्यान गएको छ । योसंगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको कुल संख्या एक लाख ४७ हजार ५७३ पुगेको छ ।
यसैबीच संक्रमण तीव्र देखिएपछि बेलायती प्रधानमन्त्री बोरिस जोनसनले अर्को हप्ता थप उपायहरू अवलम्बन गर्न आवश्यक रहको बताएका छन् । कोरोनाको नयाँ खतरालाई ध्यानमा राख्दै स्वास्थ्य विज्ञहरूले यहाँका बालबालिकालाई फाइजर–बायोनटेकको कोरोना खोपको १० माइक्रोग्राम डोज दिनुपर्ने सुझाव दिएका छन् ।
कोरोना संक्रमणलाई नियन्त्रण गर्नको लागि सरकारले बुस्टर डोजलाई निकै तीव्रताकासाथ अघि बढाएको छ । बेलायतमा मंगलबारसम्म ९६८,६६५ जनालाई बुस्टर र कोभिड–१९ को खोप दिइएको छ ।
