दीप बस्न्यात ‘सम्पर्कविहीन’

१२ पुस, काठमाडौं ।
ललिता निवास जग्गा अनियमितता प्रकरणमा छानविन अघि बढेलगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त एवं पूर्वसचिव दीप बस्न्यात ‘सम्पर्कविहीन’ भएका छन् ।

Advertisement

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको घटनामा मुख्य योजनाकार रामकुमार सुवेदीलाई पक्राउ गरेलगत्तै बस्यात सम्पर्कविहीन भएका हुन् ।

उनी स्वास्थ्य उपचारको बाहनामा भारततर्फ लागेको पारिवारिक स्रोतलाई उधृत गर्दै सीआईबी स्रोतले बताएको छ । ‘जिल्ला अदालत काठमाडौंले उहाँ विरुद्ध पक्राउ अनुमतिपत्र जारी गरिसकेको छ’ ब्यूरो स्रोतले भन्यो, ‘हामीले उहाँलाई बोलाएर बयान लिने तयारी गरिरहेका थियौं, एकाएक सम्पर्कविहीन हुनुभयो ।’ स्रोतका अनुसार सुवेदी दम्पत्ति पक्राउ परेलगत्तै बस्यातले काठमाडौं छाडेका हुन् ।

Advertisement

ब्यूरोका निर्देशक डीआईजी धिरजप्रताप सिंहले केही व्यक्तिको हकमा अदालतबाट पक्राउ अनुमति लिएर अनुसन्धान चलिरहेको बताए । तर बस्न्यातकै बारेमा भने सम्बन्धित अनुसन्धान अधिकृतलाई थाहा हुने उनले प्रतिक्रिया दिए ।

बस्न्यात भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव हुँदा भूमिसुधार तथा व्यवस्था मन्त्रालयको क्षेत्राधिकारमा पर्ने मोही व्यवस्थापनसम्बन्धी प्रस्ताव आफैंले मन्त्रिपरिषदमा लगेको आरोप छ ।

Advertisement

बस्न्यातले तयार पारेको मन्त्रिपरिषदमा लैजाने प्रस्ताव सदर गरेपछि ललिता निवास प्रकरणमा तत्कालिन उपप्रधानमन्त्री एवं भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदारमाथि समेत भ्रष्टाचार मुद्दा लागेको छ ।

ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गरेको अभियोगमा २२ माघ २०७६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्न्यातसहित ११० जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

अख्तियारले त्यतिबेला बस्न्यातमाथि ९ करोड ६५ लाख रुपैयाँ मूल्यांकन भएको जग्गा अनियमितता गरेको आरोप लगाएको थियो । बस्न्यात सचिव हुँदा ललिता निवासको सार्वजनिक, पर्ती तथा राजकुलोको जग्गा नक्कली मोहीलाई वितरण गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको आरोप छ ।

अख्तियारले भ्रष्टाचार मुद्दा चलाइसकेपछि प्रहरीको ब्यूरोले अहिले उनीमाथि कीर्ते कागजात तयार गरेको आरोपमा समेत अनुसन्धान गरिरहेको हो । २०७२ साल चैत १९ गते अख्तियारको आयुक्तमा नियुक्त भएका बस्न्यात २०७४ साल जेठ ८ अख्तियारको प्रमुख आयुक्त बनेका थिए ।

उनले २०७४ साल माघ २८ गते अवकाश पाएका थिए । ब्यूरोले केही ‘लो प्रोफाइल’ कर्मचारीहरुको बयान लिएपछि अन्तिममा उच्चपदस्थ अधिकारीहरुको बयान लिने तयारी गरेको थियो । बयान शुरु हुनुअघि नै बस्न्यात भारत गएका हुन् ।

गत मंसिरमा भ्रष्टाचार मुद्दाको तारिख लिने क्रममा विशेष अदालतमा हाजिर भएका उनी करिव पाँच महिना थुनामा परेका थिए । विशेष अदालतले पुर्पक्षका क्रममा बस्न्यातलाई थुनामा राख्नु भनी आदेश दिएपछि उनी डिल्लीबजार कारागारमा बन्दीको रुपमा रहे ।

पछि कोरोना संक्रमण फैलिएर अस्पताल भर्ना भएपछि उनले बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए । सर्वोच्च अदालतले २४ बैशाख २०७८ मा बस्न्यातलाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी थुनामुक्त भएका थिए ।

उनी सरहका अरु प्रतिवादीहरु साधारण तारेखमा वा धरौटीमा छुटेको भन्दै सर्वोच्च अदालतले मानवीय दृष्टिले अनुचित हुने भन्दै धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top