१७ पुस, पोखरा ।
लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका र्यापर आशिष राना (लाउरे)सहित चार जनालाई आठ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
गत बुधबार साँझ सात बजे पोखरा, ८ जाल्पारोडबाट पक्राउ परेका चार जनालाई आठ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको हो । १३.०१ ब्राउन सुगरसहित पक्राउ परेका उनीहरू चारै जनालाई कास्की प्रहरीले शुक्रबार दिउँसो सार्वजनिक गरेको छ ।
लाउरेसँगै पोखरा १७, छोरेपाटन बस्ने ३९ वर्षीय ध्रुवबहादुर थापा, पोखरा १ बगर बस्ने नवीनकुमार गुरुङ, पोखरा ८ सभागृह बस्ने २२ वर्षीय सुस्मिता गुरुङलाई लागूऔषध खरिदबिक्री भइरहेको गोप्य सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको थियो ।
उनीहरूलाई नियन्त्रणमा लिएपछि तलासी गर्दा ०.५१ ग्राम ब्राउन सुगर भेटिएको थियो । सोही सम्बन्धमा अनुसन्धान गर्दा सुस्मिताको सभागृहस्थित डेराबाट १२.५० ग्राम ब्राउन सुगर भेटिएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले बताए ।
उनीहरूको साथबाट डिजिटल तराजु एक थान, ३८ हजार ३५० रुपैयाँ, पाँच सेट मोबाइल र ग २१ प ३३२३ नम्बरको स्कुटर भेटिएको तिवारीले जानकारी दिए ।