माओवादीको आग्रहमा प्रतिनिधि सभा बैठक स्थगित

माओवादीको आग्रहमा प्रतिनिधि सभा बैठक स्थगित

१८ पुस, काठमाडौं ।
आज दिउँसो १ बजेलाई बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको आग्रहमा बैठक स्थगित गरिएको हो। माओवादी केन्द्रले आठौं राष्ट्रिय महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्वको निर्वाचन गर्दैछ।

निर्वाचन भएका आफ्ना सांसदहरु बैठकमा सहभागी हुन नसक्ने भन्दै माओवादी केन्द्रले सभामुख अग्निप्रसाद सापकोटासमक्ष बैठक स्थगन गर्न आग्रह गरेको थियो। सोही आग्रहअनुसार सभामुख सापकोटाले आजको बैठक स्थगन गरेका हुन्।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको थियो।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद बैठकमा निरन्तर अवरोध गर्दै आएको छ। पुस ६ गते बसेको अघिल्लो बैठकले एमालेका सांसदहरुको चर्को नाराबाजीबीच दुई वटा अध्यादेश स्वीकृत गरेको थियो।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले प्रस्तुत गरेको यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश स्वीकृत गरिएको थियो।

दुई अध्यादेश स्वीकृत भएपछि अनिश्चितकालका लागि स्थगित गरिएको प्रतिनिधिसभाको बैठक आइतबार बोलाइएको थियो। जुन माओवादी केन्द्रको महाधिवेशनको कारण स्थगित गरिएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.