१९ पुस, कैलाली ।
ज्यान मुद्दामा फरार सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीका छोरा बबी सोडारी पक्राउ परेका छन् ।
सवारी ज्यान मुद्दामा फरार भएका मन्त्री सोडारीका छोरा २३ वर्षीय बबीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी बेदप्रकाश जोशीले जानकारी दिए ।
२ पुसमा बबीले चलाएको बागमती प्रदेश ०१०२५ च ६६५५ नम्बरको गाडीको ठक्करबाट टीकापुरमा पैदलयात्री ९९ वर्षीया दुर्गादेवी न्यौपानेको मृत्यु भएको थियो । गाडीको ठक्करबाट गम्भीर घाइते न्यौपानेको उपचारका क्रममा नेपालगञ्जमा ११ पुसमा मृत्यु भएको थियो ।
डीएसपी जोशीले सवारी ज्यान मुद्दामा आइतबार बबीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको बताए । घाइते न्यौपानेको उपचार खर्च ब्यहोर्ने सहमति गरेका बबी सम्पर्कविहीन भएका थिए ।