काठमाडौं, साउन २९
राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले मुस्लिम समुदायको ठूलो पर्व बकर ईदमा सार्वजनिक विदा दिन सरकारको पुनः ध्यानाकर्षण गराएको छ । राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले आज बिहान प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र बुझाउँदै बकर ईदमा सार्वजनिक विदा दिन पुनः ध्यानाकर्षण गराएको हो ।
्प्रधानमन्त्री ओलीलाई बालुवाटारमा भेटेपछि गठबन्धनका नेताहरुले मुस्लिम समुदायले खुशीयालीका साथ आफ्नो पर्व मनाउने अधिकार सुरक्षित गर्न पनि बकर ईद पर्वमा विदा दिनुपर्ने माग गरेका थिए ।
त्यस अवसरमा प्रधानमन्त्री ओलीले पनि बकर ईदमा विदा दिने आश्वासन गठबन्धनका नेताहरुलाई दिएका थिए । प्रधानमन्त्री ओलीले बकर ईदमा सार्वजनिक विदा दिने आश्वासन दिनु भएको राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनका संयोजक शमीम मियाँ अन्सारीले जानकारी दिए ।
आगामी भदौं ६ गते बुधबार बकर ईद पर्व पर्दछ । प्रधानमन्त्री ओलीले गठबन्धनका नेताहरुलाई बकर ईदमा एक दिन विदा दिने आश्वासन दिनुभएको हो । सरकारले बकर ईदमा दिने गरिएको सार्वजनिक विदा कटौती गरेपछि मुस्लिम समुदाय रुष्ट हुँदै आएका थिए । मुस्लिम समुदायले बकर ईदमा सार्वजनिक विदा नदिए सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिँदै आएका छन ।