बन्दीपुर जिप दुर्घटनाः नौ महिने शिशुसहित ६ जनाको मृत्यु

बन्दीपुर जिप दुर्घटनाः नौ महिने शिशुसहित ६ जनाको मृत्यु

१ माघ, तनहुँ ।
तनहुँको बन्दीपुर गाउँपालिकामा जिप पल्टिँदा ९ महिनाकी बालिकासहित ६ जनाको मृत्यु भएको छ ।

८ जना घाइते भएका छन् । आँबुखैरेनी घुमाउनेबाट साराङघाट हुँदै बन्दीपुर जाँदै गरेको जीप वडानम्बर ६ हटियानजिकै बाक्से भन्ने ठाउँमा भीरबाट खसेको हो । सधैं हिँडिरहने रुटमा ग१ज ६५५५ नम्बरको जिप भीरबाट खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

चार जनाको घटनास्थलमै मृत्यु भएको र बाँकी दुई जनाको उपचारका लागि बन्दीपुर अस्पताल पुर्‍याउँदै गर्दा मृत्यु भएको हो ।

बन्दीपुर गाउँपालिका अध्यक्ष पूर्णसिंह थापाले दिएको जानकारीअनुसार ९ महिने बालिका आरुबी थापा, २४ वर्षीय रोशन गुरुङ, ५३ वर्षीय हरिबहादुर न्यौपान, ४८ वर्षीय सुशीलादेवी न्यौपाने, ४८ वर्षीय सन्तबहादुर गुरुङ र ५० वर्षीय विमाया गुरुङको मृत्यु भएको छ । मृत्यु हुने सबै जना वडा नम्बर ६ कै छन् ।

घाइते ८ जनाको थप उपचारका लागि चितवन रिफर गरिएको पालिका अध्यक्ष थापाले जानकारी दिए । घटनाले हटिया गाउँ शोकमा डुबेको छ । ‘घटनाले हटियालाई मात्र होइन, सिंगो बन्दीपुर गाउँपालिकालाई नै विक्षिप्त बनाएको छ’ पालिका अध्यक्षले भने, ‘कच्ची बाटो पार गर्दै आएको जिप पिच बाटोमा दुर्घटनामा पर्‍यो ।’

जिप आँबुखैरेनीको घुमाउनेबाट बुद्धसिंह मार्ग हुँदै बन्दीपुरतिर गुडिरहेको थियो । हटिया गाउँ आइपुग्नुभन्दा ५० मिटरअघि मात्र उकालोमा जीप ब्याक भएर खसेको हो ।

‘गाडीको एक्कासी स्टार्ट बन्द भएछ । फेरि स्टार्ट गर्न खोज्दा गाडी ब्याक भएपछि चालकले जिप नै छोडेर भागेछन् र भीरबाट खस्यो भन्ने छ’ पालिका अध्यक्ष थापाले भने, ‘चालक अहिले फरार छन् । उनी सिकारु थिए भन्ने सूचना प्राप्त भएको छ । प्रहरीले अनुसन्धान गर्दैछ ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.