काठमाडौं,साउन २९
नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष २०७४/७५ मा विद्युत चुहावट २ं.४५ प्रतिशतले कम हुँदै करिब २० प्रतिशतमा झारेको छ । विद्युत चुहावट कम भएसँगै प्राधिकरणको आम्दानी थप ४ अर्ब रुपैयाँ बढेको छ ।
आव २०७३/७४ मा २२.९ प्रतिशत रहेको चुहावट गत वर्ष करिब २.४५ प्रतिशत कम भएको हो । गत आवमा २०.५० प्रतिशतमा झार्ने लक्ष्य रहेको प्राधिकरणले त्योभन्दा ०.०५ प्रतिशत बढी घटाउन सफल भएको छ ।
चुहावट नियन्त्रण आन्तरिक सुधार तथा प्रभावकारी आयोजना सञ्चालनबाट प्राधिकरणको वित्तीय अवस्था सकारात्मक हुँदै गएको दाबी छ । प्रसारण र वितरण प्रणालीमा क्रमशः करिब ५.५ प्रतिशत र १४.५ प्रतिशत छ । चालू आवमा विद्युत चुहावट १८.५ प्रतिशतमा झार्ने लक्ष्य छ । प्राधिकरणका अनुसार गत आवको अन्तिम लेखापरीक्षणसम्म करिब १ अर्ब रुपैयाँ खुद नाफा हुने अनुमान गरिएको छ ।
२०७३ भदौ १ गतेको ३२औं वार्षिकोत्सवमा करिब ९८ करोड रुपैयाँ खुद घाटा हुने अनुमान गरिए पनि १ अर्ब ३० करोड रुपैयाँ खुद नाफा भएको बताइएको छ । गत आवमा प्राधिकरणको सञ्चालन नाफा ७ अर्ब ८६ करोड पुगेको दाबी गरिएको छ । प्राधिकरणले गत आवको वार्षिक बजेटमा करिब २ अर्ब ५० करोड रुपैयाँ खुद घाटा हुने प्रक्षेपण गरेको थियो ।
प्राधिकरणले आव २०७३/७४ मा विद्युत बिक्री र व्याजलगायतबाट ५१ अर्ब ७० करोड रुपैयाँ आम्दानी गरेकोमा आव २०७४/७५ मा आम्दानी ६० अर्ब ४८ करोड रुपैयाँ पुर्याएको छ । प्राधिकरणले आव २०७४/७५ को विद्युत औसत आयात दर प्रतियुनिट ७ रुपैयाँ ५० पैसा छ । उपभोक्ता औसत महसुल दर प्रतियुनिट १० रुपैयाँ ४ पैसा छ । आव २०७३/७४ मा २ अर्ब १७ करोड युनिट आयात गरिएकोमा गत आवमा भारतबाट २ अर्ब ५८ करोड युनिट विद्युत आयात भएको छ ।