बाक्लो हुस्सु, कुहिरोका कारण पश्चिम तराईको जनजीवन कष्टकर

बाक्लो हुस्सु, कुहिरोका कारण पश्चिम तराईको जनजीवन कष्टकर

३ माघ, काठमाडौँ । तराईका जिल्लामा केही दिनयता बाक्लो हुस्सु, कुहिरो लागेको छ । यसले गर्दा चिसो झन् बढेको महशुस भइरहेको छ ।

केही दिनदेखिको बाक्लो हुस्सु, कुहिरोका कारण विशेषगरी पश्चिम तराईको जनजीवन कष्टकर बनेको छ ।

न्यूनतम तापक्रम खासै नघटे पनि अधिकतम तापक्रम लगातार घट्दो छ । नेपालगञ्ज, धनगढीलगायतका क्षेत्रमा अधिकतम तापक्रम घटिरहेको छ ।

नेपालगञ्जको अधिकतम तापक्रम १३ दशमलव ८ डिग्री सेल्सियसमा झरेको छ । यस्तै धनगढीको अधिकतम तापक्रम पनि १४ दशमलव ५ डिग्री सेल्सियसले घटेको छ । आज पनि घाम लाग्ने सम्भावना नरहेकाले अझै अधिकतम तापक्रम घट्ने अनुमान छ ।

चिसो बढ्दा दैनिक ज्याला गरी गुजारा चलाउने मजदुर सबैभन्दा धेरै समस्यामा परेका छन् । चिसो छल्न सार्वजनिक ठाउँ तथा चोकचोकमा आगो बालेर ताप्न थालिएको छ ।

यस्तै, देशका अन्य ठाउँमा पनि हुस्सु, कुहिरो लागेको छ ।

काठमाडौँ उपत्यकासहित धेरै जिल्लामा घाम लाग्ने मौसमविद् शान्ति कँडेलले बताए । उनका अनुसार आज पनि धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली जिल्लाका केही ठाउँमा हल्का हिमपातको सम्भावना छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.