८ माघ, काठमाडौं ।
कानुनविद्हरुले स्थानीय तहको निर्वाचन निर्धारित मितिमा नै हुनुपर्ने बताएका छन्।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै कानुनविद्हरुले सरकारले स्थानीय तहको निर्वाचन संविधानले तोकेको समयसीमामा नै हुनुपर्नेमा जोड दिएका हुन्।
कार्यक्रममा वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र महतोले स्थानीय स्थानीय तह निर्वाचन ऐन प्रदेशसभाको नक्कल भएकोले त्रुटिपूर्ण रहेको बताए। उनले स्थानीय तहमा चरणको कुनै कुरा नै नभएकोले यो स्थानीय तहमा ल्याउनु भनेको प्रदेशसभा निर्वाचन ऐन कपी पेस्ट गर्नुको परिणाम भएको बताए।
उनले एकैपटक निर्वाचन गर्ने नाउँमा सात वटा प्रदेशसभालाई विघटन गर्ने अधिकार संघ सरकारसँग नरहेको पनि प्रष्ट पारे। उनले भने, ‘यो भन्दा अघि जुन–जुन मितिमा चुनाव भएको थियो त्यही मितिमा स्थानीय तहको चुनाव गरिनुपर्छ।
ता कि संविधान र कानुनको मर्म, जुन ५ सालको जीवन छ स्थानीय तहको, हरेक सथानीय तहलाई ५ वर्षको ग्यारेन्टी छ। असारमा चुनाव भएको छ भने असारमा ५ वर्ष पुग्छ, वैशाखमा भए वैशाखमा, आश्विनमा भएको छ भने आश्विनमा त्यसलाई घटिबढी गर्न मिल्दैन।’
कार्यक्रममा कानुनविद् डा. सुरेन्द्र भण्डारीले अहिलेको निर्वाचन प्रणाली पैसा, गुण्डा र छलकपटमा नै आधारित भएको भन्दै नेपालमा संसदीय निर्वाचन प्रणाली असफल भएको दाबी गरे।
उनले संकटको समयमा मात्रै संसद र प्रदेशसभाको निर्वाचन वर्ष दिनसम्म लम्ब्याउन पाइने उल्लेख गर्दै अहिले संकट नभएकोले समयमै निर्वाचन गराउनु पर्नेमा जोड दिए। उनले निर्वाचन लम्ब्याउने कुरा नगरी यथास्थितिमा नै निर्वाचन गराउनु पर्ने बताए।
कानूनविद् भण्डारीले भने, ‘संघीय संसद र प्रदेशसभाको निर्वाचन संकटकालीन अवस्था आएमा एक वर्षसम्म लम्ब्याउन पाइन्छ। अहिले मुलुकमा संकट आएको छैन, त्यसैले यसलाई लम्ब्याउने कुनै पनि किसिमको षड्यन्त्र वा त्यस किसिमको सोचहरु प्रत्युत्पादन हुन्छन्।
स्थानीय तहको समयावधि सकिएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्छ। तर त्यो ६ महिना किन राखिएको हो भने अवधि सकिन्छ अनि ६ महिनामा गरौँला भनेर होइन, विशेष परिस्थिति पर्यो, गर्न नसकिने अवस्थामा परेपछि हो।
अहिले निर्वाचन गर्न नसकिने अवस्था छैन। कोभिडको कारण देखाइन्छ भने भारतलगायतका विश्वका अन्य देशमा इलेक्शन भइरहेको छ। त्यसैले यसलाई ६ महिनाको अवधिलाई टेकेर इलेक्शन ल्म्ब्याउन पाइँदैन।’
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले तीन तहको निर्वाचन एउटै चरणमा गर्न व्यवस्थापकीय दृष्टिकोणबाट पनि सम्भव नभएको भन्दै एउटै मितिमा निर्वाचन गर्न नमिल्ने बताए। उनले एकैचरणमा तीन तहकै निर्वाचन गरिनुपर्छ भन्ने कुरा कपटपूर्ण र लोकतन्त्रविरुद्धको षड्यन्त्र भएको आरोप लगाए।
उनले भने, ‘यो तीन तहकै निर्वाचनको कुरा आएको छ। यी तीन तहको निर्वाचन एउटै मितिमा किन सम्भव छैन भने पहिला एउटै मितिमा निर्वाचन भएको थिएन। यसको कार्यकाल फरक मितिमा सुरु भएकोले अहिले एउटै मितिमा निर्वाचनको कुरा हामी नगरौँ। यसै पनि तीन तहको निर्वाचन एउटै चरणमा व्यवस्थापकीय दृष्टिकोणले, पनि सजिलो छैन।’
त्यस्तै नेकपा (माओवादी केन्द्र) का नेता डा. खिमलाल देवकोटाले स्थानीय तहको चुनाव समयमै गर्ने बताए। उनले अहिले सबै दल र आम नागरिकहरु स्थानीय तहको चुनाव गर्नुपर्ने भनेर लागिरहेकोले त्यसमा कुनै संशय नगर्न पनि आग्रह गरे।