महासचिवमा वर्षमान पुनको दाबी, प्रचण्डले गरे स्वागत

१० माघ ७८, मंगलबार

११ माघ, काठमाडौं ।
नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुन (अनन्त) ले पार्टी महासचिवमा आफ्नो दाबी रहेको बताएका छन्।

चीनमा स्वास्थ्य उपचार गराएर स्वदेश फर्केपछि सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्नै उनले पार्टी महासचिवमा आफ्नो स्वाभाविक दाबी रहेको बताएका हुन्। यसअघि पार्टी सचिव रहेर काम गरेकोले महासचिवमा स्वभाविक दाबी रहने उनको जिकीर थियो।

चीनमा रहँदा नै आफूले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठसहितलाई महासचिवमा आफ्नो दाबी रहेको सुनाएको पनि उनले बताएका छन्। स्थानीय कमिटीदेखि प्रदेश हुँदै पार्टी अध्यक्ष र केन्द्रीय समितिको चयन सर्वसम्मतिबाट भएको भन्दै उनले वरिष्ठ नेता, उपाध्यक्ष र महासचिवसहित पदाधिकारी चयन पनि सहमतिमै हुने बताए।

Advertisement

‘महाधिवेशन चलिरहेकै बेला मैले पार्टी अध्यक्ष, वरिष्ठ नेता र अरु साथीहरुसँग कुरा हुँदा महासचिवमा दाबी गरेको कुरा साँचो हो। म यसअघि सचिव भएर काम गरिसकेकाले महासचिवमा दाबी गर्नु स्वाभाविक हो,’ उनले भने।

भरसक सहमतिमै पदाधिकारी चयन हुने र प्रक्रियामा गए आफू फेस गर्ने उनको भनाइ थियो। आफू उपचारका क्रममा देशबाहिर रहेका बेला पार्टीको आठौं महाधिवेशन भएको र त्यसमा सहभागी हुन नपाउँदा दुःख लागेको पुनले बताए।

Advertisement

महाधिवेशनले केन्द्रीय सदस्यहरू चयन गरेको थियो। अध्यक्षमा सर्वसम्मत पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएका थिए। पार्टी पदाधिकारी भने केन्द्रीय कमिटीले चयन गर्नेछ। वर्षमान चीनमा रहेकोले केन्द्रीय कमिटी बैठक बसेको थिएन।

माघ अन्तिम सातातिर माओवादीले केन्द्रीय कमिटी बैठक राख्ने तयारी गरेको छ। महासचिवमा वर्षमान र जनार्दन शर्मा आकांक्षी छन्।

उपचारपछि नयाँ जीवन पाएँ

उपचारपछि आफूले नयाँ जीवन पाएको पनि उनले बताए। चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उनलाई जण्डिसको उपचार गरिएको थियो।

वंशाणुगत जण्डिसका बिरामी पुन जावलाखेलस्थित सुमेरु अस्पतालमा उपचार सम्भव नभएपछि चिकित्सककको परामर्शमा गत १३ असोजमा थाइल्याण्डको राजधानी बैंकक गएका थिए। बैंककस्थित समितिभेज अस्पतालमा दुई महिना उपचार गराउँदासमेत स्वास्थ्यमा सन्तोषजनक सुधार नभएपछि उनलाई गत मंसिर १० मा चीन लगिएको थियो।

सोमबार स्वदेश फर्केपछि उनले आफूले नयाँ जीवन पाएको बताएका हुन्। आफ्नो उपचारका सहयोग गर्नेहरू, पार्टी अध्यक्ष, नेताहरू, परराष्ट्र मन्त्रालय र चीन सरकारलाई पनि उनले धन्यबाद दिएका छन्।

उनले आफू र पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्ती जहाज चार्टर गरेर नभई कार्गो जहाजमा स्वदेश फर्किएको बताएका थिए। ‘सातामा दुईपटक सामान लिन कार्गो जहाज जाँदो रहेछ’, पुनले भने, ‘त्यसैमा आएको हुँ।’

यसैबीच नेता पुनलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका छन् । श्रीमती ओनसरी घर्तीसहित नेता पुन मंगलबार बिहान खुमलटारस्थित प्रचण्ड निवास पुगेका थिए ।खुमलटारमा प्रचण्ड र उनको परिवारका सदस्यले पुनलाई खादा लगाएर स्वागत गर्दै पूर्ण स्वास्थ्यलाभको कामना गरेका छन् ।

‘लामो समयको उपचारपश्चात् स्वदेश फर्किनुभएका हाम्रो पार्टीका नेता वर्षमान पुन ‘अनन्त’लाई अध्यक्ष कमरेड प्रचण्डले निवास खुमलटारमा स्वागत तथा उहाँको पूर्ण स्वास्थ्यलाभको कामना गर्नुभयो’, प्रचण्डले सचिवालयले जानकारी दिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top