११ माघ, एजेन्सी । रुसले युक्रेनमाथि आक्रमण गर्न सक्ने चिन्ताकाबीच अमेरिकाले झण्डै साढे आठ हजार सेनालाई उच्च सतर्क अवस्थामा राखेको छ ।
रुसका सेनाले युक्रेनलाई घेरामा राखेको र जुनसुकै बेला आक्रमण गर्न सक्ने भएकाले साढे आठ हजार अमेरिकी सेनालाई छोटो सूचनामा जहाँ पनि जान सक्ने गरी उच्च सतर्क अवस्थामा राखेका अमेरिकाको राष्ट्रपति भवन पेन्टागनका प्रवक्ता जोन कर्बीलाई उदृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
रुसले भने युक्रेनमाथि आक्रमण गर्ने आफ्नो कुनै तयारी नभएको बताउँदै आएको छ । युक्रेनको समस्यालाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडनले हिजो आफ्ना युरोपेली साझेदारसँग भिडियो कलमार्फत कुराकानी पनि गरेका छन् ।
अमेरिकाले सैनिकहरू तयारी अवस्थामा रहेका भए पनि उनीहरूको तैनाथीबारे अहिलेसम्म निर्णय भइनसकेको जनाएको छ । नेटोका सदस्य देशहरू डेनमार्क, स्पेन, फ्रान्स र नेदरल्यान्ड्सले पूर्वी युरोपमा सुरक्षा बढाउनका लागि युद्धपोत र लडाकु जहाज पठाउनेबारे विचार गरिरहेको यसअघि नै बताइसकेका छन् ।
नेटोका महासचिव जनरल येन्स स्टोल्टेन्सबर्गले युक्रेनमा हमला गरे रुसले त्यसको महँगो मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन् । अमेरिकी विदेश मन्त्रालयले हिजो युक्रेनमा रहेका आफ्नो दूतावासका कर्मचारीका आफन्तलाई युक्रेन छाड्न आदेश दिएको थियो ।
