खेलकुद मन्त्रालयका सह–सचिव पोखरेललाई राखेपको कार्यकारी अधिकार

खेलकुद मन्त्रालयका सह–सचिव पोखरेललाई राखेपको कार्यकारी अधिकार

२७ माघ, काठमाडौं ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा देखिएको समस्या तत्कालका लागि समाधान भएको छ ।

सर्वोच्च अदालतले सदस्य सचिवको मुद्दा टुङ्ग्याउन नसक्दा लामो समयदेखि नेतृत्वविहीन हुन पुगेको राखेपको आर्थिक तथा प्रशासनिक अधिकार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले मन्त्रालयका सहसचिव तथा खेलकुद विकास महाशाखा प्रमुख डा. कमल प्रसाद पोखरेललाई प्रत्यायोजन गरेका छन् ।

राखेप सदस्य सचिव सम्बन्धी सर्वोच्च अदालतमा परेको मुद्दा किनार नलाग्दा विगत २ महिनादेखि परिषद्को सम्पूर्ण कामकारबाही ठप्प भएको थियो । परिषदमा देखिएको समस्या समाधानका लागि युवा तथा खेलकुद मन्त्री गहतराजले यही माघ २४ गतेको मन्त्रिपरिषद् बैठकमा अधिकार प्रत्यायोजन सम्बन्धी प्रस्ताव पेस गरेका थिए ।

प्रस्ताव पास गर्दै मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय खेलकुद परिषद्क अध्यक्षका हैसियतमा मन्त्रीलाई आर्थिक तथा प्रशासनिक अधिकार प्रत्यायोजन गर्न दिने निर्णय गरेको हो । राष्ट्रिय खेलकुद परिषद्को इतिहासमै पहिलो पटक सदस्य सचिवको अधिकार अन्य कर्मचारीलाई प्रत्यायोजन गरिएको हो ।

सरकारले आफूलाई बर्खास्त गरेर टङ्कलाल घिसिङलाई नियुक्त गरेको निर्णयविरुद्ध रमेश सिलवालले सर्वोच्चमा दिएको मुद्दा विचाराधीन अवस्थामा रहेकाले राखेपका कामकाज प्रभावित भएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.