माओवादी घटकहरुलाई एकताबद्ध हुन प्रचण्डको आह्वान

१ फागुन ७८, आइतबार
Share this
708shares

१ फागुन, काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवर्तनका लागि लडेका शक्तिहरु एक भएमात्रै वर्तमान परिवर्तनलाई अझै सुदृढ र समृद्ध गर्न सकिने बताएका छन्

Advertisement

२७ औं ‘जनयुद्ध’ दिवसको अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै प्रचण्डले छरिएर रहेका माओवादी घटकहरुलाई देशको अगाडि आइपरेको समस्यालाई आत्मसात गर्दै एकतावद्ध हुनसमेत आग्रह गरेका छन्।

‘यस ऐतिहासिक सन्दर्भमा माओवादी जनयुद्धमा सहभागी भएका र माओवादी पहिचान बनेका विभाजित माओवादी नेता तथा कार्यकर्ता तथा शान्ति र संविधानको बाटोमा सहकार्य गर्दै आएका सम्पूर्ण शक्तिहरुमा जनयुद्धका उपलब्धि एवं संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र शान्ति सम्झौताको मर्म र भावना अनुसार अगाडि बढ्न विशेष अनुरोध गर्दछु’, प्रचण्डले शुभकामना सन्देशमा भनेका छन्, ‘छरिएर रहेका माओवादी घटकहरुलाई देशको अगाडि आइपरेको समस्यालाई आत्मसात गर्दै एकताबद्ध हुन आग्रह गर्दछु।

Advertisement

परिवर्तनका लागि लडेका शक्तिहरु एक भए वर्तमान परिवर्तनलाई अझै सुदृढ र समृद्ध गर्न सकिने विश्वास व्यक्त गर्दछु।’

उनले नेपालको इतिहासमा ‘जनयुद्ध’को भूमिका दूरगामी महत्व रहेको र अहिले पनि सान्दर्भिक रहेको उल्लेख गरेका छन्। ‘नेपाली राजनैतिक र सामाजिक परिवर्तनको इतिहासमा पनि यो मुक्तियुद्धका रुपमा स्थापित भइसकेको छ’, प्रचण्डले भने, ‘जनयुद्धको जगमा सम्पन्न भएको ०६२–६३ को संयुक्त जनआन्दोलनपश्चात मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको रुपमा संस्थागत भएको छ।

Advertisement

संविधानसभामार्फत नयाँ संविधान निर्माण हुनु र संविधानले मुलुकलाई संघीय गणतन्त्रात्मक शासन प्रणालीका साथै धर्मनिरपेक्ष, समावेशी तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरिनु पनि जनयुद्धकै योगदान थियो भन्ने कुरामा दुईमत हुनै सक्दैन।’

उनले देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरु जनताको बलिदानबाट प्राप्त परिवर्तनलाई उल्ट्याउन र परिवर्तनको नेतृत्व नेता र पार्टीलाई बदनाम गर्न अहिले पनि लागिरहेका औंल्याएका छन्।

प्रचण्डले पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता र शुभेच्छुकरशुभचिन्तक आम जनसमुदायलाई एकताबद्ध भएर सबैखाले प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गर्नका लागि अगाडि बढ्न अपीलसमेत गरेका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top